इटहरीः सन् १९८४ को एथलेटिक्स खेलमा सहभागी भएका धरानका राजेशमान श्रेष्ठले मङ्गलबार प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डले प्रदान गरेको निःशुल्क स्वास्थ्य उपचारको कार्ड पाए । 

आफ्नो पूरै जीवन खेलमा बिताएका श्रेष्ठलाई निःशुल्क स्वास्थ्य उपचार पाउनेगरी प्रदेश १ सरकारको खेलकुद विकास बोर्डको सक्रियतामा उपलब्ध गराइएको कार्ड पाउँदा राजेशलाई ३८ वर्षपछि राज्यले चिनेको भान भएको छ । त्यति मात्र नभएर त्यतिबेला खेलेको उपलब्धि आज पाएको महसुस भएको श्रेष्ठले प्रदेश पोर्टललाई सुनाए । राजधानी काठमाडौँमा भएको साउथ एसियन खेलमा सहभागी भएका राजेश त्यसपछि पनि थुप्रै खेल गतिविधिमा संलग्न भएर र अहिले जीवनको उत्तरार्धमा छन् । ‘आफ्नो जीवन नै खेलमा समर्पित गर्ने खेलाडीलाई राष्ट्रले चिन्न सकेको थिएन तर प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको खेलकुद विकास बोर्डले चिन्यो ।’ श्रेष्ठले प्रदेश पोर्टलसँग खुसी साटे । 

290695489_799574127904835_277611494704185248_n

गत असार १९ गते प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले प्रदेशभरका एसियन, साफ र ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई कास्यपत्रसहित सम्मान गरेको थियो भने विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको काठमाडौँ मेडिकल कलेजसँग तिनै खेलाडीलाई निःशुल्क र खेलाडीका परिवारलाई आधा शुल्कमा स्वास्थ्य उपचार गर्ने सम्झौता गरेको थियो । सोही सम्झौताअनुरुप राजेशमानलाई मङ्गलबार स्वास्थ्य उपचारको लागि कार्ड हस्तान्तरण गरिएको हो । प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले उक्त कार्ड हस्तान्तरण गरेका थिए । 

राज्यले आफूहरुबाट अझै पनि आफूले सिकेको सीप नयाँ खेलाडी उत्पादनका लागि उपयोग गर्न सक्ने र त्यसका लागि आफू तयार रहेको राजेशमान बताउँछन् । सन् १९८४ कै एथलेटिक्समा सहभागी भएका मोरङ्गको विराटनगरका दिनेश कर्णले पनि मङ्गलबार नै प्रदेश खेलकुद विकास बोर्डबाट नोबेल मेडिकल कलेज र काठमाडाँै मेडिकल कलेजको स्वास्थ्य उपचार कार्ड प्राप्त गरे । प्रदेश पोर्टलसँगको कुराकानीमा कर्णले प्रदेश १ को खेलकुद विकास बोर्डले खेलाडीलाई गरेको सम्मानको प्रशंसासमेत गरे । 

290594279_3311530299060232_5171219887137535890_n

‘खुसी पनि दियो र प्रेरणा पनि दियो । हामीले पाएको सुनेपछि नयाँ खेलाडीहरुलाई हौसला प्रदान हुन्छ ।’ कर्णले भने । २०४६ पनि सन्यास लिएर प्रशिक्षणमा लागेका उनी अहिले मोरङ जिल्ला एथलेट्स संघको नेतृत्वमा छन् । आफूले खेल खेल्ने बेलामा मेडल प्राप्त गर्दा सरकारले दिने एक सय दुई सय रुपैयाँ बक्सिसबाहेक अरु केही नपाएको बताउने कर्ण प्रदेश खेलकुद विकास बोर्डको पहलमा भएको खेलाडीको स्वास्थ्य उपचारको निःशुल्क सेवाले आफूलाई प्रफुल्लित बनाएको बताउँछन् । 

प्रदेश खेलकुद विकास बोर्डले प्रदेश १ बाट एसियन र साफ खेलमा सहभागी भएका खेलाडीलाई खेल खेलेको प्रमाणसहित बोर्डको कार्यालय विराटनगरमा सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारको कार्ड बुझिलिन अनुरोध गरेको छ । सम्पूर्ण खेलाडीलाई जानकारी गराउनका लागि बोर्डले हरेक जिल्लाका खेलकुद विकास समितिलाई जानकारी गराइसकेको सदस्यसचिव वाग्लेले बताए ।