धरानः संघीय सकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल सरकारका बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने तयारीमा रहेको बताएका छन् ।
मङ्गलबार तीनकुने औद्योगिक क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बन्द रहेका सरकारी उद्योगहरू सञ्चालनका लागि स्थलतगत अवलोकनमा आफू आएको उनले बताए । उनले भने, ‘नेपाल सरकारको विराटनगर जुट मिलसहित १० बन्द उद्योग छन् । बन्द हुनुको खास कारण के हो र चलाउनका लागि के गर्नुपर्छ भन्ने कुरा बुझ्न आएको हुँ ।’ उनले अन्य औद्योगिक क्षेत्रका उद्योगको पनि सञ्चालनको अवस्था बुझ्न आफू आएको बताए । मन्त्री बडूले राष्ट्रिय उत्पादन न्यून भएकाले आयात बढेको बताए ।
उनले भने, ‘मुलुक आयातमा निर्भर भएको अवस्था छ । आयात प्रतिस्थापनका लागि उद्योग सञ्चालन आवश्यक छ ।’ उनले सरकारले उद्योग सञ्चालन गर्ने नीति लिएको बताए । उनले भूमिको सीमा बढाउने निर्णय प्रक्रियामा रहेको बताए । निर्यात ६० प्रतिशतभन्दा बढी गर्नेलाई विशेष सहुलियत दिएको पनि उनले उल्लेख गरे । उनले उद्योगीको भाडा पुनरावलोकन गर्ने र रेडियो नेपालको जग्गाका विषयमा प्रक्रिया अघि बढाउने बताए । तीनकुने औद्योगिक क्षेत्र, उद्योग संघ र सुनसरी उद्योग वाणिज्य संघले मन्त्री बडूलाई विभिन्न माग पत्र पनि बुझाएका छन् ।
संघका प्रतिनिधि कृष्ण अग्रवालले सरकारले उद्योगीबाट भाडा असुलेपनि सेवा नदिएको बताए । उनले ढल, सडक, विद्युत, पानीको समस्या रहेको बताए । औद्योगिक क्षेत्रको भाडा ९५ प्रतिशत वृद्धि गरिएको उनको गुनासो थियो । अग्रवालले भने, ‘८ हजार ३ सय ३१ रुपैयाँ भुक्तानी गर्दै थियौँ । अहिले १६ हजार २ सय रुपैयाँ तिर्न निर्देशन आएको छ । यसले हामी त्रसित भएका छौँ ।’