वासिङ्टनः म्यान्मारको सैनिक सरकार (जुन्ता)ले चारजना प्रजातन्त्र समर्थक अभियन्तालाई मृत्युदण्ड दिएपछि अमेरिकाले चीनलाई म्यान्मारमाथि दबाब बढाउन आग्रह गरेको छ । 

अमेरिकी विदेश विभागका प्रवक्ताले चीनले जति विश्वका अन्य कुनै मुलुकले म्यान्मारलाई प्रभावित गर्न नसक्ने बताएका छन् । तर, चीनले आफूले अन्य मुलुकको आन्तरिक मामिलामा दखल नदिने जनाएको छ । यसैबीच म्यान्मार सरकारले पछिल्लो मृत्युदण्डको निर्णय उचित भएको दाबी गरेको छ । म्यान्मारका एकजना सरकारी प्रवक्ताले उनीहरूले अदालतमा आफूहरूलाई लगाइएको प्रतिवाद गर्ने मौका पाएको पनि जनाएका छन् ।

नियमित प्रेस ब्रिफिङमा जुन्ता प्रवक्ता ज मिन तुनले भनेका छन्, “यदि हामीले उनीहरूलाई दिइएको मृत्युदण्डबारे तुलना गर्ने हो भने उनीहरूले गरेका अपराधका आधारमा उनीहरूलाई पटकपटक मृत्युदण्ड दिइनुपर्थ्यो । मृत्युदण्ड दिनुअघि उनीहरू चारैजनालाई भिडियो लिङ्कमार्फत परिवारका सदस्यहरूसँग कुराकानी गर्न दिइएको थियो ।“

यता अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भनेका छन्, “सधैँजस्तै यस मामिलामा पनि जुन्ताको सरोकार नहुन सक्छ । हामी विश्वभरिका मुलुकलाई थप केही गर्न आह्वान गरिरहेका छौँ । हामी पनि थप केही गर्ने छौँ । सबै मुलुकलाई म्यान्मारलाई सैन्य उपकरण बिक्री रोक्न आह्वान गर्दछौँ । जुन्ता सरकारलाई कुनै पनि अन्तर्राष्ट्रिय विश्वास नदिऔँ ।“

मृत्युदण्ड पाउने ’को जिम्मी’को नामले बढी चिनिने अभियन्ता क्य मिन यू र पूर्व विधायक फ्यो जेया थ पनि रहेका छन् । गत वर्षको सैनिक विद्रोहपछि उनीहरूलाई आतंककारी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको थियो । -बीबीसीबाट