इटहरीः एक किशोरीलाई नसालु पदार्थ खुवाएर पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना कराँते प्रशिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगरका विनोद राउत र सुरज सुवेदी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अभियुक्तहरुउपर विराटनगरको एउटा कलेजमा स्टाफ नर्स पढिरहेकी १९ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ । अभियुक्तमध्येका एक सुवेदीले पछिल्लो पटक असार २८ गते आफूमाथि जबर्जजस्ती करणी गरेको पीडित युवतीको आरोप छ ।

गत जेठमा पहिलो पटक अभियुक्त सुवेदीले आफ्नो कोठामा आई नसालु पदार्थ मिसाइएको मदिरा सेवन गराई बलात्कार गरेर त्यसको भिडियो खिचेको र सोही भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पटकपटक बलात्कार गरेको पीडित युवतीले प्रहरीसमक्ष बताएकी छन् ।

हल्ला गरे भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै सुवेदी र राउतले पटक–पटक होटलमा लगेर जबरजस्ती गरेको जाहेरीमा उल्लेख छ । अभियुक्त सुवेदी परीक्षामा सहयोग गरिदिएको बहानमा युवतीसँग नजिकिएका थिए ।