इटहरीः सुनसरीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका ६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेको १ नमबर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार भोक्राहा नर्सिङ गाउँपालिका ४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कारपियो जिपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो ।