बर्लिनः रुसले ग्यास आपूर्तिमा थप कटौती गरेपछि जर्मनी र अरु मध्य युरोपेली मुलुकहरूमा ग्यासको मूल्यमा भारी वृद्धि भएको छ । 

यसै साताको सुरुमा मात्र रुसले ग्यासको आपूर्ति घटाउने चेतावनी दिएको थियो । रुसले युक्रेनमा आक्रमण सुरु गरेयता युरोपेली ग्यासको मूल्यमा अहिले सम्मकै सर्वाधिक वृद्धि भएको छ । पछिल्लो समयमा ग्यासको मूल्यमा नौ प्रतिशतले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय राजनीतिक समीक्षकहरूले रुस सरकारले ग्यासलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् । 

रुसले जर्मनीमा नोर्ड स्ट्रिम १ पाइपलाइनमार्फत हुने ग्यास आपूर्तिमा कटौती गरेको हो । रुसले अहिले यस पाइपलाइनको क्षमताको बस प्रतिशत भन्दा कम ग्यास मात्र पठाइरहेको छ । 

जर्मनीले आफूलाई आवश्यक कुल परिमाणमध्ये ५५ प्रतिशत ग्यास रुसबाट आयात गर्दै आएको छ । त्यसमध्ये अधिकांश ग्यास नोर्ड स्ट्रिम १ पाइपलाइनबाट नै आउने गरेको छ । अन्य ग्यास जमिनमा बिछ्याइएका पाइपलाइनमार्फत आउने गरेको छ । 

रुसी सरकारी उर्जा कम्पनी गाज्प्रोमले एउटा टर्बाइनमा मर्मतसम्भार गर्नु परेकाले पछिल्लो ग्यास कटौती गर्नुपरेको स्पष्ट पारेको छ । 

तर, जर्मन सरकारले आपूर्ति सीमित पार्नुको पछाडि कुनै प्राविधिक कारण नभएको जनाएको छ । यता युक्रेनले रुसलाई युरोप विरुद्ध ‘ग्यास युद्ध’ सुरु गरेको आरोप लगाएको छ । -बीबीसीबाट