इटहरीः टिपरको ठक्करबाट झापामा बुधबार साँझ साइकलमा यात्रा गरिरहेका एक जना किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथरको तुम्बेवा गाउँपालिका–५ का १६ वर्षीय सञ्जिव ईम्सङ लिम्बू रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कमल गाउँपालिका–५ गीता पेट्रोल पम्पअगाडि साँझ ५ः३० बजे टिपरले लिम्बूलाई ठक्कर दिएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ क २१२ नम्बरको टिपरको ठक्करबाट लिम्बूको घटनास्थलमै मृत्यु भएको डीएसपी तिम्सिनाको भनाइ छ । उनका अनुसार दुर्घटनालगत्तै टिपर चालक मकवानपुर चुरेमाई नगरपालिका–५ का ३१ वर्षीय सुजन वाईबालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।