इटहरीः मोरङको विराटनगरस्थित यातायात सेवा कार्यालयले पनि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने भएको छ ।

प्रदेश १ यातायता व्यवस्था तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले बताए ।

साउन ११ गते  बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्नेगरी सेवा सञ्चालनमा आएको  मन्त्रालयले जनाएको छ । प्रदेश १ मा इटहरी, विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट ट्रायल दिने व्यवस्था छ । विराटनगरबाट नै यातायातका काम हुने भएपछि सेवाग्राही हर्षित भएका छन् ।