इटहरीः झण्डै १ वर्ष अघि गत पुस १६ गते इटहरीको रोयल रिसोर्टमा १४ वर्षीया बालिका बलात्कार गर्ने २ व्यक्तिलाई जनही १० वर्ष जेल सजाय सुनाइएको छ । जिल्ला न्यायाधीश धु्रवकुमार उप्रेतीको इजलाशले मनिष भनिने जीवनकुमार श्रेष्ठ र जोकम लिम्बूलाई आइतबार उक्त सजाय सुनाइएको हो ।
अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पुस १६ गते राति हलगडा नजिकको रोयल रिसोर्टमा बालिकाका प्रेमी भनिने जोकम लिम्बूले लगेका थिए । पछि उनीसहित उनका साथी मनिषले मिलेर बलात्कार गरेको विषयमा प्रहरीले मुद्दा चलाएको थियो ।
२०७४ साल फागुन १५ गते अदालतमा मुद्दा दर्ता गरिएको थियो । मुद्दा नम्बर सिआर ०४८० माथि सुनुवाइ गर्दै उक्त फैसला सुनाइएको हो ।
बहुचर्चित उक्त घटनामा मिलापत्र गराउन भूमिका खेलेको भन्दै तत्कालीन सुनसरी प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक चिरञ्जीवि दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । पछि दुवै जनाको निलम्बन फुकुवासमेत भएको थियो ।
जिल्ला अदालत सुनसरीका सूचना अधिकृत गोपालप्रसाद गिरीले उनीहरूलाई कैद सजायसहित पीडितलाई जनही ५०–५० हजार रुपैयाँ क्षतिपूर्ति दिनेपर्ने गरी फैसला गरेको जानकारी दिएका छन्