इटहरीः बढ्दो आयातलाई प्रतिस्थापन गर्ने सरकारको नीतिविपरीत सुनसरी जिल्लाको कोसी बराज भन्सार कार्यालयबाट मात्र गत आर्थिक वर्षमा ६ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । 

 आर्थिक वर्ष २०७८÷७९ मा सुनसरीका भन्सार कार्यालयबाट ५ अर्ब ९३ करोड ८८ लाख ७७ हजार बराबरको प्रमुख १५ वटा वस्तुहरू आयात भएको हो ।

आयात भएका सामग्रीमा धेरैजसो कृषिजन्य पदार्थ छन् । धान, आलु, मकै, चामल, प्याज आयात भएको छ । आलुको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा  ८८ करोड ९४ लाख २९ हजार बराबरको आलु आयात भएकोमा गत आर्थिक वर्ष २०७८–७९ मा १ अर्ब ५४ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आयात भएको छ ।

यसैगरी, आर्थिक वर्ष २०७७÷७८ सालमा ४७ करोड १६ लाख २२ हजार बराबरको प्याज आयात भएकोमा आर्थिक वर्ष २०७८–७९ सालमा १ अर्ब ५४ करोड ३७ लाख ९ हजार बराबरको प्याज आयात भएको छ । अघिल्लो वर्ष ३३ करोड ७५ लाख ९६ हजार बराबरको चामल आयात भएकोमा गत वर्ष ८२ करोड ६१ लाख ६५ हजार बराबरको आयात भएको छ ।

त्यस्तै, धानको आयातमा पनि ४२ करोड रुपैयाँको वृद्धि भएको छ । आर्थिक वर्ष २०७७÷७८ सालमा १ अर्ब १७ करोड ४२ लाख ७० हजार बराबरको धान आयात भएकोमा गत आर्थिक वर्ष २०७८÷०७९ मा १ अर्ब ५९ करोड ४८ लाख ८५ हजार बराबरको आयात भएको भन्सार कार्यलय कोसी बराजले बताएको छ  । 

आर्थिक वर्ष २०७७–७८ सालमा ५३ करोड २२ लाख ८९ हजार बराबरको मकै आयात भएकोमा आर्थिक वर्ष २०७८–०७९ सालमा १ अर्ब ११ करोड ५६ लाख १० हजार बराबरको आयात भएको छ । त्यसैगरी आर्थिक वर्ष २०७७÷०७८ सालमा ८ करोड २० लाख २३ हजार बराबरको भुस आयात भएकोमा गत आर्थिक वर्षमा १६ करोड २९ लाख ७५ हजार बराबरको आयात भएको छ । यस्तै त्यस्तै आर्थिक वर्ष २०७७–७८ सालमा २ करोड ७४ लाख ३६ हजार बराबरको कागती आयात भएकोमा गत आर्थिक वर्षमा ८ करोड ६९ लाख ९३ हजार बराबरको आयात भएको छ ।

यता, तरकारीको आयातमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७७–७८ सालमा २ करोड ५९ लाख ८० हजार बराबरको ताजा तरकारी आयात भएकोमा गत आर्थिक वर्षमा १ करोड ६९ लाख ६१ हजार बराबरको आयात भएको छ ।

सुनसरी भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा २७ करोड ८२ लाख ३९ हजारभन्दा बढी राजश्व संकलन गरेको छ । ५३ करोड ७६ लाख ४३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको कार्यालयले ८१ करोड ५८ लाख ८२ हजार संकलन गरेको हो ।