इनरुवाः इनरुवा नगरपालिकामा कार्यरत कर्मचारीले पसलमा व्यक्तिगत रुपमा खाने गुटखा, रजनीगन्धा र चुरोट सहितका खाजाको बिल सरकारी कोषबाट भुक्तान गर्ने गरेको खुलासा भएको छ ।

स्थायी दरबन्दीमा कार्यरत कर्मचारीहरुकोे एक वर्षभन्दा लामो अवधिको व्यक्तिगत खर्चको भुक्तानी नगरपालिकाको सरकारी कोषबाट व्यहोरिएको देखिएपछि सरकारी कोष दोहनको नयाँ शैेली सार्वजनिक भएको हो । नगरपालिका कार्यालयनजिकै पसल सञ्चालन गर्ने सुशीलादेवी साह कर्मचारीले खाएको उधारो पटकपटक ताकेता गर्दा पनि नतिरेर नगरपालिकाको नाममा बिल पेस गर्न लगाएको तर आफूले अहिलेसम्म सोको भुक्तानी नपाएको बताइन् । 

उधारो रकम उठाउन लागि सुशिलादेवी साहले २०७९ असार १२ गते इनरुवा नगरपालिका कार्यालयमा ५३ हजार ३ सय ४५ रुपैयाँ भुक्तानीको दावीसहित निवेदन दिएकी थिइन । उक्त निवेदनमा सम्बन्धित फाँटका कर्मचारीले लेखा फाँटमा सिफारिस गरेको निवेदनमा उल्लेख गरिएको छ । फाँटवालाले १९ हजार १ सय ६५ रुपैयाँको बिल भुक्तानी गर्न निवेदनमा ‘श्रीमान लेखा फाँट प्रमुख ज्यु निवेदकको बिल भर्पाइअनुसारको भुक्तानीका लागि अनुरोध छ’ भन्ने व्यहोरा उल्लेख गरि हस्ताक्षर र मिति लेखिएको छ । सो निवेदनमा कार्यालय प्रमुखले ‘श्री आर्थिक प्रशासन शाखा’ भन्ने तोक आदेश दिएका छन । कार्यालयले २०७९ असार १२ गते ७४६२ दर्ता नम्बरमा निबेदन दर्ता गरेको पाइएको छ ।

यससँगै चिया पसले सुशिलादेवी साहले नगरपालिका कार्यालयमा २०७८ फागुन २५ गते पेश गरेको निवेदन दर्ता नम्बर ६२०० रहेको छ । उक्त निवेदनमा ३४ हजार १ सय ८० रुपैयाँ रकमको बिल भुक्तानीका लागि पेशगरि माग गरेपछि सम्बन्धित फाँटवालाले सोहीबमोजिमको व्यहोरा उल्लेख गरि लेखा फाँटलाई भुक्तानीका लागि सिफारिस गर्नुकासाथै कार्यालय प्रमुखलेसमेत आर्थिक प्रशासन फाँटलाई तोक आदेश दिएको निवेदनमा उल्लेख छ ।

295849382_3170628186532868_4843086366414869218_n

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले कार्यालयका कर्मचारीले कार्यालय प्रयोजनसँग सम्बन्धित भन्दा बाहिरको पसलमा व्यक्तिगत रुपमा आएको चिया, नास्ता, खैनी, गुट्खा पानलगायतका वस्तुको रकम नगरपालिकाबाट लिनका लागि बिल पेस गर्ने गरेको आफूले फेला पारेको बताए । उनले कर्मचारीले व्यक्तिगत रुपमा अनावश्यक फजुल खर्च गरि विभिन्न बहानाबाजीमा नगरपालिका कार्यालयमा फर्जी बिल पेस गरेर रकम भुक्तानी लिने गरेको पाइएपछि त्यस खाले भुक्तानी रोक्का गरेको बताए ।