इटहरीः सुनसरीको इनरुवा नगरपालिकाले करार नवीकरण नगर्ने भनेपनि आन्दोलनमा रहेका ५७ जना करार कर्मचारीको  जारी आन्दोलनको विषयमा नेपाली कांग्रेस सुनसरीले आफ्नो ध्यानाकर्र्षण भएको जनाएको छ । 

लगातार आन्दोलन गरी नगरपालिकाको कामकाज नै ठप्प बनाएपछि आन्दोलनरत कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसले पनि करारका कर्मचारीले म्याद थप नगरेको विषयमा आन्दोलन गर्नु अवैधानिक भएको ठहर गर्दै बिहीबार ध्यानाकर्षण सार्वजनिक गरेको हो । 

नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव वीरेन्द्र साहले करारमा रहेर नवीकरण नहुने भएपछि आन्दोलनरत कर्मचारीको क्रियाकलापप्रति ध्यानाकर्षण भएको जनाउँदै इनरुवा नगरपालिकाले आवश्यकभन्दा बढी कर्मचारी कटौति गरेको स्पष्ट पारेका छन् ।  

म्याद थप नभएका कर्मचारीहरूले अमर्यादित तरिकाले नेपाली कांग्रेस सुनसरीका सभापति तथा नगर प्रमुखलाई अपशब्दको प्रयोग गरी नारा जुलुस गरेकोमा आफूहरुको ध्यानाकर्षण भएको साहले जनाएका छन् । 

नेपाली कांग्रेस विधिको शासन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिकामा विश्वास गर्ने पार्टी भएको तर अत्यावश्यक सेवा नै अवरुद्ध गरेर आन्दोलन गर्नु अवैधानिक भएको साहले उल्लेख गरेका छन् । नगरपालिकाले यस विषयमा ध्यान दिने जनाउँदै कांग्रेसले आन्दोलनको खण्डन गरेको छ ।