इटहरीः विराटनगर विमानस्थलबाट काठमाडौँतर्फ जान लागेको यति एयरलाइन्सको जहाज प्राविधिक गडबडीका कारण विराटनगरमै रोकिएको छ ।
६० जना यात्रुसहित आज बिहान ७ः३० बजे काठमाडौँ प्रस्थान गर्ने तयारीमा रहेको वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजको इन्डिकेटरमा खराबी देखिएपछि गन्तव्यतर्फ जान नसकी विराटनगरमै रोकिएको सो एयरलाइन्सले जनाएको छ ।
यति एयरलाइन्सका विराटनगर स्टेशन म्यानेजर प्रेम कुँवरका अनुसार यात्रुहरु सिटमा बसिसकेपछि जहाज ‘स्टार्ट’को तयारी भइरहेकोमा खराबी देखिएपछि यात्रुलाई ओरालिएको छ । जहाजमा आएको समस्याको पहिचानका लागि काठमाडौंबाट प्राविधिक झिकाइसकिएको कुँवरले बताए ।
‘जहाजमा कहिले काहीँ यस्तो समस्या आइरहन्छ। यो सामान्य कुरा हो,’ उनले भने, ‘प्राविधिक आएर चेकजाँच गरिसकेपछि समस्या पत्ता लाग्छ। प्राविधिकले पहिचान गरेर समस्याको समाधान गरिसकेपछि उडान नियमित हुन्छ ।’ यात्रुलाई गन्तव्यमा पु¥याउनका लागि काठमाडौंबाट अर्को जहाज आउने क्रममा रहेको यति एयरलाइन्सले जनाएको छ ।