इटहरीः उदयपुरको बेलका नगरपालिका १ आम्बासीबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरकै चौदण्डीगढी नगरपालिका ७ मदन चौक बेल्टार बस्ने ३४ वर्षीय निर्मल घिसिङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपरान्ह ४ः३० बजे अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले पैदल आउँदै गरेका घिसिङको साथबाट प्रतिबन्धित लागूऔषध फेनारगन २८ एम्पुल, डाईजोपाम २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल बरामद गरेको हो ।
पक्राउ परेका घिसिङलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।