नयाँ दिल्लीः आफ्नी आमालाई जिउँदै जलाइएको छ वर्षपछि एक किशोरीले न्यायको माग गर्दै आफ्नै रगतले पत्र लेखेपछि अन्ततः अपराधीलाई कारागार पु¥याइएको छ । 

अहिले २१ वर्ष पुगेकी हत्याको प्रत्यक्षदर्शी लतिका वंशल र उनकी बहिनीको बयानअनुसार उनीहरूको आफ्नै पिता मनोज वंशललाई आजीवन कारावास सजाय दिइएको हो । ती दुवै छोरीले आफ्नो पिताले आमालाई छोरो नजन्माएको निहुँमा सधैँजसो पिट्ने गरेको बयान दिएका छन् । 

तर, मनोजले आफूमाथि लगाइएको अभियोगहरू अस्वीकार गर्दै आफ्नी पत्नीले आत्महत्या गरेको बताएका छन् । उत्तरी भारतीय राज्य उत्तर प्रदेशको वुलन्दसार सहरस्थित अदालतले मनोजलाई छोरो नजन्माएको भन्दै पत्नीको हत्या गरेको अभियोगमा दोषी करार गरेको हो । 

छोरोले परिवारको बिँडो थाम्ने र बुढेसकालमा आमाबुबा पाल्ने तर छोरीहरू दाइजो लिएर आफ्नो पतिका घरमा जाने जस्ता अझैसम्म व्याप्त सामाजिक विचारधाराको कारण भारतमा छोरालाई बढी प्राथमिकता दिने गरिएको पाइन्छ । जसको कारण भारतमा कोखमा छोरी रहेको थाहा पाएपछि वर्षेनी दशौँ लाखको संख्यामा गर्भपतनमार्फत भ्रुण हत्या हुने गरेको छ । 

मनोजले पनि आफ्नी पत्नी अनु वंशललाई पेटमा छोरी रहेको थाहा पाएपछि छ पटकसम्म जबर्जस्ती गर्भपतन गराएको बुझिएको छ । 

सन् २०१६ को १४ जुनको बिहान मनोजले परिवारका अन्य सदस्यको सहयोगमा अनुको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताइएको छ । 

शरीरको ८० प्रतिशत भाग जलेका अनुको उपचार गर्ने क्रममा केही दिनपछि अस्पतालमै मृत्यु भएको थियो । 

१५ र ११ वर्षको उमेरमा अनुका ती दुई छोरीले तत्कालीन मुख्यमन्त्री अखिलेश यादवलाई आफ्नै रगतबाट स्थानीय प्रहरीले हत्यालाई आत्महत्याको रूप दिएको भन्दै पत्र लेखेपछि यो मुद्दा चर्चामा आएको थियो । -बीबीसीबाट