धरानः बराह सहकारीपीडित सङ्घर्ष समितिले बराह सहकारी सञ्चालकहरुको घरजग्गा खरिद नगर्न सर्वसाधारणमा आग्रह गरेको छ ।
शुक्रबार समितिले सार्वजनिक सूचना जारी गर्दै बराह सहकारीका सञ्चालकहरुसँग जोडिएका कुनै पनि घरजग्गा खरिद नगर्न आग्रह गरेको हो । समितिले बराह ग्रुपका अध्यक्षसहित ४४ जनाको नाममा रहेको चलअचल सम्पत्ति खरिद नगर्न आग्रह गरेको छ । बराहपीडित सङ्घर्ष समितिका प्रवक्ता प्रदीप बास्तोलाले उपमहानगरमा निवेदन दिँदा पनि कारबाहीको प्रक्रिया अघि बढाउन ढिलाइ गरेकाले सूचना जारी गर्न आफूहरु बाध्य भएको बताए ।

पीडित सङ्घर्ष समितले जारी गरेको सूचनामा बराह बचत तथा ऋण सहकारी सँस्थाले बकतकर्ताको रकम र प्रतिफल नदिएकाले कानूनी रुपमा असुलउपर गर्ने प्रक्रियामा रहेको हुँदा बराह बचत तथा ऋण सहकारी सँस्था र बराह ग्रुप अफ कम्पनीसँग सम्बन्धित व्यक्तिहरुको नाममा रहेको चलअचल सम्पत्ति खरिद नगर्न आग्रह गरिएको छ ।साथै सहकारी तथा कम्पनीको चलअचल सम्पत्ति खरिदबिक्री भइरहेको जनाइएको छ । यसैगरी, सङ्घर्ष समितिको अनुमतिबिना खरिदबिक्री गरेमा सोबाट उत्पन्न हुने परिस्थितिप्रति खरिद गर्ने व्यक्ति वा सँस्था जिम्मेवार हुनुपर्ने समितिले जनाएको छ ।

सूचनामा खरिदबिक्री गरेको चलअचल जायजेथा जफत गर्ने पनि उल्लेख गरिएको छ । बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने, बराह सहकारीका अध्यक्ष मानबहादुर दियाली विक, सञ्चालक तथा ऋण उपसमिति प्रमुख गङ्गाबहादुर कालिकोटे, सञ्चालक अम्बरबहादुर विक (सौराज), विष्णुकुमारी तुलाधर, शुभरान खाती, फूलमाया राई, ज्वेलरी प्रमुख सन्देश विक, सञ्चालक सुदिन ल्वागुन विक, लेखा सुपरिवेक्षक सदस्य शर्मिला ताम्राकार, कुमार दुतराज विक, यातायात प्रमुख श्रीमान महत क्षेत्री, लेखा सुपरिवेक्षक सदस्य अस्मिता भण्डारी क्षेत्री, किचेन डिमार्टमेण्ट प्रमुख अनुपप्रकाश श्रेष्ठ, म्यानेजर दीपिका दुवाडी, व्यवस्थापक दातेन्जी शेर्पा, अपेरेटिङ इन्चार्ज हिमप्रासद आखेला, प्रमुख लेखापाल अर्पणा श्रेष्ठ, प्रमुख व्यवस्थापक लालबहादुर श्रेष्ठ, पूर्वलेखापाल हिमाल इङ्गनाम, डिपार्टमेण्ट प्रमुख नरबहादुर लिम्बू, नगद वितरक कुमार कालिकोटे, व्यवस्थापक सुरज कालिकोटे, कृपा डिजिटल स्टुडियो प्रमुख पवेल उदास, ज्वेलरी लेखापाल शिशिर दुतराज विक, कपडा डिपार्टमेण्ट प्रमुख सङ्गम उदास, पूर्वडिपार्टमेण्ट प्रमुख दीपक श्रेष्ठ, नगद व्यवस्थापक सहायक रवि पोर्तेल, सुन धितो कर्जा प्रमुख लालबहादुर विक, सहायक लेखापाल सुजन प्रधान, रिसेप्सनिस्ट चन्द्रकला राई, नगद वितरक दीपिका खड्का, पूर्वज्वेलरी डिपार्टमेण्ट प्रमुख याम्बा ल्वागुन भन्ने इन्द्र विक, अभिमत बचत तथा ऋण सहकारी सँस्था काठमाडौँका अध्यक्ष विकास लामिछाने विक, रिना राई लामिछाने विक, मन्दिरा लामिछाने, पर्चेज मेनेजर मनोज रिजाल, सहायक मेनेजर उर्मिला श्रेष्ठ, लिकर मेनेजर सागर श्रेष्ठ, अस्मिता भण्डारी, सहायक सुमिना श्रेष्ठ, यातायात विभाग सहायक राजु श्रेष्ठ, भेडेटार डिपार्टमेण्ट प्रमुख डम्बर लामिछाने विक र जनसम्पर्क अधिकृत सुरेन्द्र विकको नाममा रहेको चलअचल सम्पत्ति खरिद नगर्न आग्रह गरिएको हो ।





















