धरानः बराह सहकारी पीडितलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गैरजिम्मेवार अभिव्यक्ति दिएपछि उनको कार्यकक्ष तोडफोड भएको छ ।
आइतबार बिहान ११ः०० बजे बराह बचत तथा ऋण सहकारी सँस्थाका पीडितहरू न्याय दिलाउन माग गर्दै धरान नगरको कार्यालयमा पुगेका थिए । उनीहरू धरान उपमहानगर प्रमुख हर्कराज साम्पाङसँग सहकारीविरुद्ध आफूहरूले दिएको उजुरीमाथि के भइरहेको छ भनेर बुझ्न र चाँडो न्यायका लागि दबाब दिन अपराहन्न ३ः०० बजेसम्म मेयर साम्पाङलाई पर्खेर बसेका थिए । करिब ३ः०० बजे मेयर साम्पाङ कार्यालय आइपुगे । पीडितहरू साम्पाङलाई किन बराह सहकारीको छानबिन प्रक्रिया अघि बढेन ? भन्दै सोध्न पुगेका थिए । सयौँको संख्यामा उपमहानगरपालिकाको कार्यालय पुगेका पीडितहरुमध्येबाट ५ जनालाई छलफलका लागि कार्यकक्षमा आउन मेयर साम्पाङले आग्रह गरे ।
५ जना छलफलका लागि पठाउने छनौट गर्दागर्दै मेयर साम्पाङले ‘मलाई सोधर पैसा राखेको थियो र?’ भन्दै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएपछि पीडितहरु आक्रोशित भई अनियन्त्रित बनेका थिए ।
बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले ११ बजेदेखि बराह सहकारीको छानबिन प्रक्रिया अघि किन बढेन भनेर मेयर साम्पाङबाट नै जानकारी लिन गएको बताए । उनले भने, ‘३ः०० बजे आएका प्रमुखले तपार्इँहरु किन उफ्रनुभएको? किन आउनुभएको ? तपार्इँहरुले पैसा मलाई सोधेर राख्नुभएको थियो र मैले दिनु ? आफ्नै हिसाबले गर्नू । म केही गर्दिनँ भन्नुभयो ।’ मेयरले गैरजिम्मेवार अभिव्यक्ति दिएपछि र माफी मागी शब्द फिर्ता लिन माग गर्दै अनियन्त्रित भीड उपमहानगरको कार्यालयमा प्रवेश गरेको थियो ।
अनियन्त्रित भीडले उपमहानगरका मेयर साम्पाङको कार्यकक्ष तोडफोड गरिदियो । पीडितहरूले न्याय दिलाउने प्रहरीले नै दमन गरेको बताएका थिए । पीडितरूले अमर्यादित अभिव्यक्ति दिने मेयर साम्पाङविरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले भीड नियन्त्रणका लागि सामान्य बल प्रयोग ग¥यो । प्रहरीले बल प्रयोग गर्दा बराह पीडित सङ्घर्ष समितका संयोजकसमेत रहेका खगेन्द्र नेपालीले आफू सामान्य घाइते भएको बताए । स्थिति थप तनावग्रस्त नहोस् भनेर सशस्त्र प्रहरी बल पनि परिचालन गरियो । पीडितहरुले मेयर साम्पाङले दिएको अभिव्यक्ति फिर्ता लिई माफी माग्नुपर्ने अडान राखेका छन् । साँझ ६ः३० बजेसम्म पनि मेयर साम्पाङले माग सम्बोधन नगरेपछि पीडितहरु घर फर्किएका थिए । उनीहरुले सोमबार पुनः बिहान ११ः०० बजे उपमहानगरपालिका घेराउ गर्ने घोषणा गरेर फर्किएका छन् ।
बराह ग्रुपसहित सहकारी सञ्चालक र कर्मचारीको बैंक खाता र सम्पत्ति रोक्का गर्ने निर्णय
बराह सहकारीको बैङ्क खाता तथा अचल समपत्ति रोक्का गर्ने निर्णय गरेको छ । धरान उपमहानगरले बराह सहकारीको छानविन गर्न बनेको कार्यदलले बराह सहकारीसहित ग्रुप अफ कम्पनी र सञ्चालक र कर्मचारीको बैङ्क खाता र अचल सम्पत्ति रोक्का गर्ने निर्णय गरेको हो । आइतबार नै कार्यदलको बैठकले सम्पत्ति रोक्का गर्ने निर्णय गरेको हो । धरान उपमहनागरको सहकारी ऐन २०७५ दफा ६२ अनुसार सहकारीका सञ्चालकसहित कर्मचारी बैङ्क खाता र स्थिर सम्पत्ति रोक्का गर्ने निर्णय गरेको र सम्बन्धित निकायलाई पत्रचार गर्ने निर्णय गरेको उपप्रमुख अइन्द्रविक्रम बेघाका स्वकीय सचिव खेम रणपहेलीले जानकारी दिए । साथै बराहअन्तर्गत सञ्चालित सम्पूर्ण सँस्थाको पनि अचल सम्पत्ति रोक्का गर्ने निर्णय कार्यदलले गरेको छ । सम्पत्ति रोक्का गर्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने कार्यदलको तयारी छ ।