नयाँ दिल्लीः अचानक आफ्नो एकजना मित्रले सुखद समाचार सुनाएपछि मोहमद बाभालाई ठूलो राहत महसुस भयो । दक्षिणी भारतको केरला राज्यको कासारगोद सहर निवासी उनलाई साथीले एक करोड भारुको चिठ्ठा परेको खबर सुनाएका हुन् । 

‘कतै भाग्यले साथ देला कि’ भन्ने आशले उनले झण्डै एक वर्षदेखि चिठ्ठा खरिद गर्दै आएका थिए । यो घटना २५ जुलाईको हो । त्यसको चार दिनपछि उनी आफ्नो गृह नगरको ‘सेलेब्रेटी’ नै बन्न पुगे । 

भारतका अधिकांश राज्यमा चिठ्ठा खरिद बिक्रीलाई अवैध मानिन्छ । तर, केरला लगायत केही राज्यमा कडा नीति नियम र अनुगमनबीच चिठ्ठा व्यवसायलाई अनुमति दिइएको छ । 

बाभाले उचित समयमा चिठ्ठा जितेका हुन् । उनी वर्षौँदेखि जम्मा हुँदै गरेको ऋणमा चुर्लुम्मै डुबेका थिए । ऋणदाताहरूको पैसा तिर्न नसकेकाले उनी र उनको परिवारले ठूलो आर्थिक र भावनात्मक तनाव खेप्दै आइरहेका थिए । 

अन्ततः उनीहरू आफ्नो घरै बेचेर भए पनि ऋण चुक्ता गर्ने निर्णयमा पुगेका थिए । तर, घर किन्नेसँग अन्तिम सम्झौता गर्नु केही घण्टाअघि मात्र उनले आफूलाई चिठ्ठा परेको खबर पाएका थिए । चिठ्ठा परेकै साँझ साढे पाँच बजे उनले घर बिक्रीको पेस्की रकम बुझ्ने तय भएको थियो । 

तर, भाग्य र संयोगकै अनौठो लिला मान्नु पर्छ, त्यही दिनको ३ बजेर २० मिनेट जाँदा उनलाई उनको साथी गणेशले ह्वाट्स अप म्यासेजमार्फत सुखद खबर सुनाए । उनले त्यो खबरले आफू र आफ्नो परिवारको खुुशीको सीमा नै नरहेको बताएका छन् । 

कर कटाएर बाभाको हातमा अब ६३ लाख भारु पर्नेछ । पैसा कहिले आउँछ भन्ने स्पष्ट भइसकेको भने छैन । तर, यो खबर पाएपछि ऋणदाताहरूले पहिले जस्तै तारन्तार ताकेता गर्न छाडेकाले उनको चिन्ता पनि सकिएको छ । 

निर्माण सम्बन्धी ठेकेदारीको काम गर्ने बाभाको केही वर्षयता व्यवसाय मन्द बन्दै गइरहेको थियो । त्यसपछि कोराना महामारी फैलिएपछि त उनको व्यवसाय झनै धराशायी हुन पुगेको थियो । 

पाँच सन्तानका पिता बाभाका दुई सन्तानको हालसालै विवाह भएको हो । जसले गर्दा उनीमाथि अर्को आर्थिक बोझ थपिन पुगेको थियो । उनले केही पैसा गरिब वर्गलाई दान दिने पनि सोच बनाएका छन् । -बीबीसीबाट