इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले आफू जति कडा रुपमा प्रस्तुत भएपनि बराह बचत तथा ऋण सहकारी सँस्थाका पिडितकै साथमा रहेको अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
मेयर साम्पाङ्गले ‘मलाई सोधेर पैसा राखेको हो र ?’ भन्ने अभिव्यक्ति दिँदा आक्रोशित पीडितहरुको समूहले मेयरलाई गालीगलौज गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरेका थिए । विकसित घटनाक्रमलाई लिएर मेयर साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता प्रदीप बास्तोलाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
नगरप्रमुखमा निर्वाचित भएसँगै बराहको विषयमा चासो लिएर काम गरिरहेका मेयरलाई पीडितहरुले यसअघि नै भेटेर आफ्नो समस्या राखेपछि नगरपालिकाले बराह ग्रुपको सम्पक्ति रोक्काका लागि प्रक्रिया अगाडि बढाइरहेको बेला अचानक आएको भीडले आफ्नो कार्यकक्षमा आक्रमण गरेपछि यो आक्रमण आफूलाई नभई नगर सरकारको प्रमुखलाई गरिएको टिप्पणी साम्पाङ्गले गरेका छन् ।
मंगलबार आफ्नो सामाजिक सञ्जाललाई सदुपयोग गर्दै मेयरले आफू बराह सहकारीको पीडितका पक्षमा रहेको तर नगर सरकारको साख गिराउने पीडकको पक्षमा नरहेको दोहोर्याएका छन् ।