काठमाडौँः चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको कडा निन्दा गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमण ‘एक–चीन नीति’को गम्भीर उल्लङ्घन भएको भन्दै निन्दा गरेको हो । यसले चीन–अमेरिका सम्बन्धको राजनीतिक आधारमा ’अत्यन्त खराब असर’ पार्ने विदेश मन्त्रालयले बताएको छ । पेलोसीको भ्रमणले ‘चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको गम्भीर उल्लङ्घन गरेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ । यसले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउने र ‘ताइवान स्वतन्त्रता’को लागि पृथकतावादी शक्तिहरूलाई गम्भीर रूपमा गलत संकेत दिने मन्त्रालयले बताएको छ । 

चीनले अमेरिकालाई ‘ताइवान कार्ड’ खेल्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न तथा थप गलत र खतरनाक बाटोमा नजान जोडदार आग्रह गरेको छ । बीबीसीबाट