इटहरीः अकबरे खुर्सानी तेह्रथुमका किसानहरुको आर्थिक उपार्जनको दरिलो स्रोत बन्न थालेको छ ।

जिल्लाको छथर गाउँपालिकाका अधिकतर किसानहरुले अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट आम्दानी बढाउन सफल भएका हुन् । परम्परागत निर्वाहमुखी खेतीले अपेक्षाकृत प्रतिफल दिन नसकेको अवस्थामा अकबरे खुर्सानी यहाँका किसानहरुका लागि राम्रो नगदे बाली बन्न पुगेको छ ।

यस क्षेत्रका किसानहरूले १ देखि ५ रोपनीको क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गर्दै आएका छन् । अन्नबालीको तुलनामा यसको उत्पादन बढी हुने र मूल्य पनि राम्रो भएपछि यसले आफूहरुको आर्थिक आवश्यकताको सम्बोधन राम्रोसँग गर्न थालेको किसान पवित्रा बराइलीले बताइन् ।

उत्पादित खुर्सानी खेतबाटै व्यापारीहरुले किनिदिने भएपछि बजारसम्म पुर्याउनुपर्ने झन्झटसमेत नरहेको उनको भनाइ छ । यहाँ उत्पादित अकबरे २ सयदेखि ४ सय रूपैयाँ प्रतिकिलो मूल्यमा सहजै बिक्री भइरहेको किसान बताउँछन् ।