इटहरीः लामो समयदेखि इटहरी ९ स्थित इटहरी हटियामा सडक व्यापार गरिरहेका व्यापारीहरुले कोल्ड स्टोर बनाउने नाममा उपमहानगरपालिकाले आफूहरुलाई बेवास्ता गरेको आरोप लगाएका छन् । 

नगरपालिकाले २५ करोड लगानीमा कोल्ड स्टोर बनाउने डीपीआर बनाइसकेको र काम सुरु गर्न सामान झार्न लागेको अवस्थामा नगर सरकारले आफूहरुलाई जानकारी नै नगराई ठेकेदारले आफुूहरुलाई हटाउन थालेको बताएका छन् । ७ सभन्दा बढीकोे संख्यामा रहेका सडक व्यापारीहरुलाई बेवास्ता गर्दै नगरसरकारले कोल्ड स्टोरको बाहानामा आफूहरुमाथि ‘लात हानेको’ स्वतन्त्र सडक व्यापार संगठनको बुझाइ छ । 

३५ वर्षदेखि इटहरीको हटियामा व्यापार गर्दै आएकी व्यापारी मैफुल खातुन आफूहरुलाई पहिला व्यवस्थापन नगरी हटिया चल्दै आएको ठाउँमा केही बन्न नहुने अडानमा छिन् । खातुनजस्तै झण्डै २ सयको संख्यामा बिहीबार हटियामा भेला भएका सडक व्यापार मजदुरहरुले इटहरी उपमहानगरपालिका वडा नं. ९ मा आइतबार र बुधबार लाग्दै आएको हटियाका व्यापारीहरूको व्यवस्थापन नगरिकन कोल्ड स्टोर निर्माण गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

294242553_835377897624725_6255122129009871228_n

तातो घाम अथवा पानीको पर्वाह नगरी कर तिरेर व्यापार गरिरहेका मजदुरलाई नगर सरकारले एउटा राम्रो शौचालयसमेत नबनाइदिएको आरोप लगाउँदै मजदुरहरुले कोल्ड स्टोर बनिहाले पनि ठूला व्यापारीहरुका लागि फाइदा हुने भएकाले आफूहरुजस्ता साना व्यापारीलाई नगरपालिकाले पहिला व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याएका छन् । आफूहरुले सडक व्यापारीहरुको उचित व्यवस्थापनको मागसहित उपमहानगरमा ज्ञापनपत्र बुझाउने र नगरप्रमुखलाई भेटेर बारम्बार ध्यानाकर्षण गराउने काम गरेको भएता पनि नगरले अहिलेसम्म आफूहरुको मागलाई वास्ता नगरको स्वतन्त्र सडक व्यापार संगठनका संघीय उपमहासचिव प्रदीप तामाङ्ग बताउँछन् । 

उपमहासचिव तामाङका अनुसार यहाँ अहिले करिब सात सयभन्दा बढी व्यापारीहरूले व्यापार गरेर जीवीकोपार्जन गर्दै आएका छन् । ‘सडक व्यापारीको व्यवस्थापन नहुँदा आक्रोशको अवस्था सृजना भएको छ, स्थानीय सरकारले पहिले व्यापार गरिरहेकालाई व्यवस्थित नगरी कोल्ड स्टोर निर्माण गरिनु अत्यन्त खेदजनक छ ।’ तामाङ्गले सञ्चारकर्मीहरुसँग भनेका छन् ।  कोल्ड स्टोर बन्नु हुँदैन भन्ने आफूहरुको माग नभएको भन्दै तामाङले कोल्ड स्टोर बनोस् तर २५ करोडको होइन ५ करोडको बनोस् र २० करोड नगरको अर्को विकासमा खर्च होस् । त्यसो भयो भने नगर र श्रमिक दुवैका लागि फाइदाजनक हुन्छ भन्ने आफूहरुको माग रहेको बताए । 

इटहरी दशनामी समाजका अध्यक्ष एंव इटहरी ४ का स्थानीय झलक वनले नगरपालिकाले तरकारी बिक्री गर्नेजस्तो संवेदनशिल क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए । उनले करतिरेपछि व्यापारीले आरामदायी चर्पीको समेत प्रयोग गर्न नपाउनु दुःखको कुरा भएको बताए । हटियाको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै वनले आफू त्यसको लागि सहयोग गर्न तयार रहेकोसमेत सुनाए । त्यसैगरी, सार्वजनिक यातायात व्यवसायी संघ प्रदेश १ का महासचिव रमेश खत्रीले पनि श्रमिकका पक्षमा नगर सरकारले सुनुवाइ गर्नुपर्ने बताए ।

नगरपालिकाले कोल्ड स्टोर बनाउने ठाउँ खाली गर्दा त्यहाँका व्यापारीलाई व्यवस्थित गर्न बधशाला रहेको ठाउँ खाली गरी त्यहाँ बजार लगाउने गरी कुरा चलाइरहेको वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाको आवश्वासन पाएको नेपाल स्वतन्त्र सडक व्यापार संघले बताएको छ । ‘तर त्यसको लागि समय लाग्छ भनिएको छ हामी समय कुर्न सक्दैनौँ । पहिला व्यापार गर्ने ठाउँको व्यवस्थापन हुनुपर्छ भनि कोल्ड स्टोर बन्नुपर्छ ।’ व्यापारीले भनेका छन् ।