तनहुँः तनहुँ जिल्लामा सात हजार ५४ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन् । 

सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै शुक्रबारदेखि मतदाता नामावली सङ्कलन स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।  

मतदाता दर्ताको अन्तिम दिन बिहीबारसम्म तीन हजार चारसय १२ महिला र तीन हजार ६४२ पुरुष थपिएका छन् । त्यस्तै बाहिरी जिल्लाका ३६० मतदाताले तनहुँबाट मतदाता नामावली दर्ता गरेको कार्यालयले जनाएको छ । असार मसान्तसम्म चार हजार ८८६ मतदाता थपिएकामा साउन १ देखि १९ गतेसम्म दुई हजार ५२८ मतदाता थप भएको उनले जानकारी दिए ।  

जिल्ला निर्वाचन कार्यालयमा रहेको तीन दर्तास्थलबाट यस अवधिमा तीन हजार ६४९ र जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको एउटा दर्तास्थलबाट तीन हजार ४०५ मतदाता थपिएका छन् । 

“निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ, अब हामी आन्तरिक तयारीमा जुट्छौँ,” उनले भने । स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण थियो । मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै दमौलीसम्म आउने गरेका थिए ।

जिल्लामा हालसम्म दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । विसं २०७९ वैशाख २९ गतेसम्म एक लाख १७ हजार १३४ पुरुष र १२७ हजार २०६ मतदाता छन् । -रासस