इटहरीः सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची तय गरेको छ ।

सो दिन प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने आयोगको तयारी छ । प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधिसभा तथा ३३० प्रदेशसभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उमेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइनेछ । मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।