धरान/ विभिन्न समयमा चोरी भएका र हराएका मोबाइल फोन फेला पारेर प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न थालेको छ ।

इलाका प्रहरी कार्यालय धरानले शनिबार ९ जना व्यक्तिलाई विभिन्न समयमा हराएका र चोरी भएका मोबाइल फिर्ता गरेको छ । फेला परेका मोबाइलहरू सामान्य मूल्यदेखि ८० हजारभन्दा बढी मूल्यका एन्ड्रोइड मोबाइलसमेत छन् । हराएको मोबाइल भेटिएला भन्ने आशासमेत त्यागिसकेकाहरू मोबाइल फिर्ता पाउँदा निकै खुशी देखिएका थिए । प्रहरीले लामो समय अनुसन्धान गरेर ती मोबाइलहरू फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो । पछिल्लो समय मोबाइल हराएको, चोरी भएको उजुरी अत्यधिक आउने गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलका अनुसार पछिल्लो ६ महिनामा मात्र प्रहरीले १ सय ५ वटा मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरिसकेको छ । प्रहरीमा आएका उजुरीमध्ये ८० प्रतिशतको मोबाइल फेला पारेर फिर्ता गर्न प्रहरी सफल भएको डिएसपी पौडेलको भनाइ छ । साथै, मोबाइल चोरीमा ७ जनालाई पक्राउ गरी मुद्दा दर्ता भएको पनि उनले खुलाए ।

‘हामीले ६ महिना यता मात्र १ सय ५ वटा मोबाइल फेला पारेर धनीलाई फिर्ता गरिसकेका छौं । ७ जनालाई पक्राउ गरेर मुद्दा पनि चलाएका छौं,’ डिएसपी पौडेलले भने ।

कसैले चोरी गरेको वा भेटेको मोबाइलमा नयाँ सिम हालेर चलाउँदा सजिलै पक्राउ गर्न सकिने प्रहरीले जनाएको छ । ‘चोरीको मोबाइलमा नयाँ सिम हालेर चलाए पत्ता लागिहाल्छ, त्यसैले मोबाइल चोरहरू उम्किन सक्दैनन्,’ डिएसपी पौडेलले भने, ‘अपरिचित व्यक्तिहरूसँग पनि मोबाइल किन्न हँुदैन, त्यो चोरी भएको हुन सक्छ । भेट्नु भएको हो भने पनि सम्बन्धित व्यक्तिलाई बुझाइहाल्नुपर्छ ।’

प्रहरीका अनुसार हराएको मोबाइलको आइएमइ नम्बरबाट कसले सो मोबाइल चलाउँदैछ भन्ने पत्ता लाग्छ । आइएमइ नम्बर बिर्से वा नभेटिए पनि पुरानो सिम नम्बरबाट आइएमइ नम्बर पत्ता लाग्छ ।

प्रहरीमा उजुरी आएका जति पनि मोबाइल फेला परेका छन्, त्यसको तुलनामा चोरी गर्ने व्यक्ति भने न्यून मात्र पक्राउ परेका छन् । यसको मुख्य कारण भनेको मोबाइल चोरी गर्ने वा भेटाउने व्यक्तिले अरुलाई मोबाइल बिक्री गरेको हुन्छ । निर्दोष व्यक्तिले मोबाइल किनेर नयाँ सिम हालेपछि ती व्यक्ति फस्न पुग्छन् । ‘चोरले अस्पताल, बसपार्कजस्तो ठाउँमा पुगेर नचिनेको व्यक्तिलाई मोबाइल बिक्री गर्दो रहेछ । चोरले आफू ज्यादै अभरमा परेको भनेर मोबाइल बिक्री गर्दो रहेछ,’ डिएसपी पौडेलले भने, ‘किन्ने व्यक्तिले कसले बेचेको भनेर पनि भन्न सक्दैन । त्यसैले मुख्य चोर पक्राउ पर्न गाह्रो छ । तर पनि पछिल्लो ६ महिनामा ७ जनालाई समातेर मुद्दा चलाएका छौं ।’