इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग र उपमेयर अइन्द्रविक्रम बेघासहित गठबन्धन दलको संयन्त्रको टोली धरानको विकासलाई मुद्दा बनाएर राजधानीमा पुगेको छ ।
राजधानीमा विभिन्न मन्त्रालयमा मन्त्रीहरुलाई भेट्न गएो टोलीमा संयन्त्रका संयोजक किशोर राई, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जसपाका नगर अध्यक्ष ताजुब लिम्बू, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई, नेपाली कांग्रेसका प्रदेश सदस्य गणेश परियार, नेकपा माओवादी केन्द्रका नगर सचिवालय सदस्य सीपी बजगाईँसमेत रहेको बताइएको छ ।
मेयर र उपमेयर सहितको टोलीले आइतबार स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीलाई भेट गरेको छ भने थप मन्त्रालयमा भेटको कार्यक्रम रहेको बताइएको छ । स्वास्थ्य मन्त्रीसँगको भेटमा संयन्त्रले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेफिसिट बजेट, शिक्षक कर्मचारीको वृत्ति विकास, एमआरआई मेसिन, आईसीय”, डायलायसिस, क्याथ ल्याब, कार्डियोलोजी सेन्टर र अङ्कोलोजी सेन्टर निर्माण, आर्थिक कारोबारलाई एकद्वार नीति अवलम्बन गर्ने लगायतका बारेमा सकारात्मक छलफल भएको छ ।
साथै भदौ ५ गते स्थलगत निरीक्षण गर्न मन्त्री भवानीप्रसाद खापुङ धरान आउने भएका छन् । यसैगरी, बराहक्षेत्र नगरपालिकाले चतरा अस्पतालका लागि एम्बुलेन्स र शववाहन खरिद गर्ने भएमा सम्पूर्ण कर छुट गर्नेसमेत निर्णय भएको छ । भेटमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलको उपस्थिति रहेको थियो ।
त्यसैगरी, टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग पनि भेट गरेको छ । भेटमा बहुभाषिक विद्यालय निर्माण र सञ्चालन, नगरपालिकाको सहकार्यमा ‘सीटीईभीटी’ बाट शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने भएको छ ।
टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग पनि भेट गरेको छ । मन्त्री कार्कीले भेटमा धरानमा डेटा सेन्टर निर्माण गर्ने, धरानको समग्र विकासमा पूर्ण सहयोग गर्नेसमेत बताए ।
टोलीमा पूर्वप्रदेशप्रमुख डा. गोविन्द सुब्बा, सांसद मिना सुब्बा, सांसद सीताराम महतो, राष्ट्रियसभा सदस्य जयन्ती राई, जसपाका केन्द्रीय सदस्य भीम राई, राष्ट्रि«य जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, कांग्रेसका नेताहरू बुद्धि कटवाल, डा. तुलसी गौतम, रोहित सुब्बा, सुरेन्द्र राई, काठमाडौँ सुनसरी सम्पर्क समितिका अध्यक्ष बाबुराम आचार्य लगायतको सहभागिता रहेको छ ।
दलीय संयन्त्र सहितको मेयर उपमेयरको राजधानी भ्रमण सफल हुँदै गएको उनीहरुले बताएका छन् । मेयर साम्पाङ्गले आइतबार फोहोरको डङ्गुरले भरिएको काठमाडौँभन्दा आफ्नो धरान नै सफा रहेको प्रतिक्रिया दिएका थिए ।