नयाँ दिल्लीः भारतको राजधानी नयाँ दिल्ली निवासी एचआईभी पीडित जयप्रकाशले विगत तीन साता भन्दा लामो समयदेखि आफूलाई सिफारिस गरिएको मुख्य दुईवटा औषधिको अभावमा दिनको अन्य एघार वटा ट्याब्लेट सेवन गर्दै आइरहेका छन् । 

४४ वर्षीय जयप्रकाशले सही औषधि पाउन नसकेकाले आफूले यसरी अन्य औषधिहरू मिलाएर अस्थायी रूपमा सेवन गरिरहेको बताएका छन् । 

उनी जस्तै लाखौँ एचआईभी पीडित भारतीयहरू सरकारले मुलकभरि रहेका एन्टी–रेट्रोभाइरल थेरापी (एआरटी) केन्द्रहरूमार्फत निशुल्क उपलब्ध गराउने औषधिमाथि निर्भर छन् । 

केहि साता यता जयप्रकाश र एचआईभी कार्यकर्ता समूहका अन्य सदस्यहरूले औषधि कम्पनीहरूबाट टेन्डरमार्फत औषधि प्राप्त गर्ने नयाँ दिल्लीस्थित संघीय निकाय, राष्ट्रिय एड्स नियन्त्रण संगठन (नाको)को कार्यालयसामु विरोध प्रदर्शन गर्दै आइरहेका छन् । 

उनीहरूले नाकोले सम्पूर्ण एचआईभी संक्रमितहरूलाई सिफारिस गरेको डोलुतेग्राभिर ५० एमजी लगायत महत्वपूर्ण औषधिहरूको चरम अभाव भइरहेको गुनासो गरेका छन् ।  

विशेषज्ञहरूले ती औषधि दिनहुँ सेवन गर्नुपर्ने र उपचारमा अवरोध आएको खण्डमा बिरामीमा भाइरल लोड बढ्ने, एचआईभी सर्ने खतरा बढ्ने, औषधिले नछुने र क्षयरोग जस्तो अन्य रोगको संक्रमण हुने बताउँछन् ।

ती औषधि निजी औषधि पसलहरूमा भने उपलब्ध छन् । पीडितहरूले महँगोमा त्यस्ता औषधि किन्न सक्ने स्थिति नभएको बताइएको छ । 

विरोध कार्यक्रममा सरिक अर्का बिरामी हरिशंकर सिंहले औषधि अभावको कारण गरिब बिरामीहरू निकै मारमा परेको र विगतमा एआरटी केन्द्रले कम्तीमा एक महिनाका लागि आवश्यक औषधि दिने गरेको बताएका छन् । -बीबीसीबाट