किभः युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युरोपकै सबैभन्दा ठूलो मानिने जापोरिझ्या आणविक उर्जा भट्टीलाई प्रयोग गर्दै ’ब्ल्याकमेल’ गरिरहेको आरोप लगाएका छन् । 

रुसले गत मार्चमा यो भट्टी कब्जा गरेको हो । रुसी फौजले अहिले यसैलाई अखडा बनाएर त्यहीबाट वरपरका सहरमा आक्रमण गरिरहेका छन् । 

केही दिन यता रुस र युक्रेन दुवैले यहाँ गोलाबारी गरिरहेको आरोप प्रत्यारोप लगाउँदै आएका छन् । जसको कारण संयुक्त राष्ट्र संघले ठूलै आणविक दुर्घटना हुनसक्ने चेतावनी दिइसकेको छ । 

जेलेन्स्कीले आणविक भुट्टीको आडमा वा भट्टीमै गोलाबारी गर्ने कुनै पनि रुसी सैनिकलाई युक्रेनले विशेष तारो बनाउने जनाएका छन् । 

यो आणविक भट्टी दक्षिणी युक्रेनको निएपर नदीको पूर्वी किनारको एनेरहोदर सहरमा रहेको छ । मस्कोले अझै पनि यस भट्टी सञ्चालनका लागि युक्रेनी कर्मचारी नै प्रयोग गरिरहेको छ । 

संयुक्त राष्ट्र संघले त्यहाँ कुनैपनि बेला दुर्घटना हुनसक्ने र यसले युरोपलाई गम्भीर असर पार्ने चेतावनी दिँदै आइरहेको छ । -बीबीसीबाट