लन्डनः एकजना छ वर्षीया बालिकाको युद्धग्रस्त युक्रेनका परिवारहरूलाई सहयोग गर्ने सपना पूरा भएको छ । 

बेलायतको मिल्टन किनेस निवासी बालिका म्याडिसनले टेलिभिजनमा युक्रेन र रुसबीचको युद्धका दृश्यहरू देखेर आफू निकै विचलित भएको र आफूले एउटा च्यारिटी सुरु गर्न चाहेको बताएकी छन् । 

उड्डयन क्षेत्रमा कार्यरत आफ्ना पिता मार्क बेकरसँग मिलेर उनले ‘ह्यान्ड्स एक्रस दि स्काइज’ नामक सहयोग कार्यक्रम अघि सारेकी छन् । तिनीहरूबाट संकलन गरिएका खेलौना र अन्य आवश्यक वस्तुहरू भरिएको विमान बुल्गेरियास्थित युक्रेनी शरणार्थीहरूका लागि पठाइएको छ । 

युके एभियसन ग्रुप लिमिटेडका प्रमुख कार्यकारी अधिकारी बेकरले भनेका छन्, “हामी बाबुछोरी टेलिभिजनमा समाचार हेरिरहेका थियौँ । हामीले बमबारीबाट ध्वस्त भवनहरूबाट बालबालिकाहरू बहिर निस्किरहेको मार्मिक दृश्य देख्यौँ । मेडिसनले तत्कालै तिनीहरूका लागि के गर्न सकिन्छ त भन्ने सोच निकालिन् । त्यसको तीन चार महिनापछि हामीले सहयोग सामग्री लादिएको पहिलो विमानलाई ल्युटनबाट सोफियातर्फ उडाउन सफल भयौँ । म र उनकी आमा उनीप्रति गौरान्वित छौँ । उनले महत्वपूर्ण उपलब्धि हासिल गरेकी छन् ।”

उनीहरूले विमानमार्फत बुल्गेरिया पठाएको कम्बल, बालबालिकाका खेलौना लगायत अन्य सामग्रीहरूलाई त्यहाँबाट स्थलमार्ग हुँदै युक्रेन पु¥याइने भएको छ ।

बेकरले आफैँले आर्थिक आवश्यकता जुटाउने गरेका ‘ह्यान्ड्स एक्रस दि स्काइज’ नामक एक दातृ संस्थाले विमान चार्टर गरिदिएको बताएका छन् । 

साथै बेकरले आफूहरूले अफ्रिका, सिरिया र अफगानिस्तान लगायत विश्वका अन्य मुलुकका युद्ध पीडित परिवारहरूलाई पनि यसरी नै मानवीय हवाइ सम्पर्कमार्फत सहयोग गर्न चाहेको बताएका छन् । -बीबीसीबाट