बिर्तामोडः प्रदेश न १ का सामाजिक विकास मन्त्री राजन राईले नेकपा एमालेका कारण प्रदेशको नामकरण गर्ने अवसर गुम्दै गएको बताएका छन् । उनले एमालेले पहिचानको मुद्दामा ढुल्मुले चरित्र प्रकट गरेको र प्रदेशको नामकरण गर्न तत्परता नदेखाएको बताए ।

नेकपा एकीकृत समाजवादी पार्टीनिकट नेपाल किराँत राई संघ र नेपाल लिम्बू संघको केन्द्रीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आदिवासी जनजातिले पुर्वमा धेरै रगत बगाएको र क्रान्तिको नेतृत्व गरेकोले अब समाजवाद प्राप्त गर्न लाग्नुपर्छ ।’

उनले केपी ओलीले संसद विघटनदेखि पार्टी फुटाउने खेल खेलेका कारण पार्टीबाट विद्रोह गर्नु परेको उल्लेख गरे ।

ओलीले कम्युनिस्ट पार्टी सक्ने खेल खेलेको उल्लेख गर्दै उनले भने, ‘ओलीले विवेक नगुमाएको भए यो दिन आउने थिएन ।’ 

केन्द्रीय भेलाले नेपाल किराँत राई संघ र नेपाल लिम्ब” संघको केन्द्रीय समिति घोषणा गरिएको थियो । भेलाले किराँत राई संघको अध्यक्षमा केसर चाम्लिङ राई र लिम्बू संघको केन्द्रीय अध्यक्षमा काजीमान पङ्धाकलाई चयन गरेको छ । 

सो भेलालाई पार्टी केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, जनजाति महासङका महासचिव चन्द्र तामाङ, पार्टी तेह्रथुम जिल्ला कमिटी अध्यक्ष कृष्ण चोङ्वाङ, जनजाति महासघका उप महासचिव बज्रकुमार राई र पार्टी झापा जिल्ला अध्यक्ष वेदराज रेग्मीले मन्तव्य राखेका थिए ।