मुम्बइः पूजाकी आमाले हराएकी छोरी भेटिने सम्पूर्ण आशा माया मारिसकेकी थिइन् । तर, हराएको ९ वर्षपछि १६ वर्षीया पूजा गाउडले अन्ततः आफ्नी आमाको काखमा टाउको बिसाउन सकिन् । 

सात वर्षकी छँदा सन् २०१३ को २२ जनवरीमा उनी हराएकी थिइन् । उनले महाराष्ट्रको मुम्बइ सहरस्थित आफ्नो विद्यालय बाहिरबाट एक दम्पतीले आइसक्रिमको लोभ देखाउँदै आफ्नो साथ लगेको बताएकी छन् । 

उनलाई ४ अगस्टमा फेला पारिएको हो । अन्ततः उनी चमत्कारिक ढंगले अपहरणकर्ताको चङ्गुलबाट उम्किन सकेको बताइएको छ । 

उनकी आमा पूनम गाउड भन्छिन्, “अहिले खुशीले मलाई आफू चन्द्रमा माथि उडिरहेको जस्तै लागेको छ । मैले मेरी छोरी भेटिने आशा गर्नै छोडिसकेकी थिए ।” 

प्रहरीका अनुसार ह्यारी डिसुजा र सोनी डिसुजा नामक निःसन्तान दम्पतीले पूजाको अपहरण गरेका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेको छ । 

अपहरणमा पर्नुअघि पूजा एउटा उपनगरको सुकुम्बासी क्षेत्रमा दुई दाजुभाई र आमाबुबासँग बस्थिन् । 

हराएको दिन उनी आफ्नो दाजुसँगै विद्यालय पुगेकी थिइन् । तर, अचानक उनीहरूबीच झगडा भएको अनि हतार पनि भइसकेकाले उनको दाजुले उनलाई विद्यालय बाहिरै छोडेर आफू भित्र गएका थिए । त्यहीबेला ती दम्पतीले उनलाई आइसक्रिम किनिदिने भन्दै फकाएर लगेका थिए ।  

घर फर्केकी पूजाले भेनेकी छन्, “ती दम्पतीले सुरुमा मलाई गोवा लगे । त्यसपछि मलाई कर्णाटक र दक्षिणी र पश्चिमी भारतीय राज्यहरूमा लगे । म रुँदा वा मैले आफ्नोबारे चिन्ता गर्दा उनीहरूले मलाई चोट पु¥याउने चेतावनी दिने गर्दथे । केही समय मलाई उनीहरूले विद्यालय पनि पठाए । तर, उनीहरूको आफ्नै सन्तान भएपछि भने मलाई विद्यालयबाट निकालियो । र, उनीहरू सबै मुम्वइ बसाइँ सरे ।”

पूजा भन्छिन्, “आफ्नो बच्चा भएपछि उनीहरूले मलाई पेटीले पिट्ने, लात र मुक्का हान्ने गर्न थाले । एक पटक त उनीहरूले हतियार प्रयोग गरी मेरो ढाडबाट रगत बगाइ दिए । मलाई दिनरात काममा जोताइन्थ्यो । उनीहरू बसेको स्थानबाट मेरो परिवारको घर नजिकै थियो । तर, मलाई बाटो थाहा थिएन, मसँग पैसा र फोन पनि थिएन । साथै उनीहरूले सधैँ म माथि कडा नजर राख्थे ।”

आफ्नो मुक्तिबारे उनी भन्छिन्, “एकदिन उनीहरू सुतिरहेकाबेला मैले उनीहरूको मोबाइल हात पार्न सफल भएँ । मलै युट्युबमा मेरो नाम टाइप गर्नासाथ पोस्टर र भिडियोमा मेरो अपहरणकोबारे उल्लेख गरिएको खबर भेटाएँ । त्यहाँ मद्दतका लागि कल गर्ने टेलिफोन नम्बरहरू पनि थिए । मैले मद्दतका लागि प्रयास गर्ने निर्णय गरेँ । तर, यसका लागि त्यही घरमा घरेलु काम गर्ने ३५ वर्षीया प्रमिला देवेन्द्रसँग कुरा गर्ने साहस बटुल्न नै मलाई सात महिना लाग्यो ।”

प्रमिला तुरुन्तै उनलाई सहयोग गर्न तयार भइन् । उनले पोस्टरमा सम्पर्कका लागि राखिएको पूजाकी आमाको छिमेकी रफिकलाई फोन गरिन् । पहिलोपटक आमा छोरीले भिडियो कलमा कुरा गरे । त्यसपछि उनीहरूबीचको भेटघाट मिलाइयो ।  

पूजाकी आमा भन्छिन्, “सबैभन्दा पहिले मैले छोरीको शरीरमा रहेको जन्मिँदै देखिको खत जाँचे । दुरुस्त खत भेटिएपछि मेरो खुशीको सीमा नै रहेन । मेरा सारा शंका अन्त्य भए र छोरी फिर्ता पाएँ ।”

पूजा घरे फर्केकोमा उनको परिवार मात्र नभइ सारा आफन्त र छिमेकी पनि अति खुशी छन् । -बीबीसीबाट