रियो दि जेनेरियोः रासायनिक पदार्थ प्रयोग गरेर सुरक्षित पारिएको ब्राजिलका पहिलो सम्राट डोम पेड्रो प्रथमको मुटु ब्राजिलको दुई सयौँ स्वाधीनता दिवस मनाउने क्रममा पोर्चुगलबाट राजधानी ब्रासिलिया ल्याइने भएको छ । 

फर्मल्डिहाइड भरिएको फ्लास्कमा सुरक्षित राखिएको त्यो मुटु एउटा सैनिक विमानमा राखेर पोर्चुगलबाट ल्याइनेछ । ब्राजिलको विदेश मन्त्रालयमा सार्वजनिक प्रदर्शनमा रख्नुअघि यसलाई सैनिक सम्मान दिइने कार्यक्रम रहेको छ । तर, स्वाधीनता दिवस मनाइएको भोलिपल्टै त्यसलाई पुन पोर्चुगल नै फर्काइनेछ । 

सम्राटको मुटुलाई पार्टो सहरबाट ब्राजिल लैजान पोर्चुगलका अधिकारीहरूले अनुमति दिएका हुन् । पोर्टोका मेयर रुइ मोरेइराको अगुवाइमा सम्राटको मुटुलाई ब्राजिलको वायु सेनाका विमानमा राखेर ल्याइन लागेको हो । 

मोरेइराले ब्राजिलियन जनताको सम्मान स्वरूप यसलाई ब्राजिल लान लागिएको बताएका छन् । यसैगरी ब्राजिलको विदेश मन्त्रालयका वरिष्ठ अधिकारी एलन कोएल्हो डि सेल्लोसले भनेका छन्, “यस मुटुलाई राष्ट्राध्यक्षको रूपमा यसरी सम्मान गरिनेछ कि मानौँ डोम पेड्रो हामी माझ अझै जीवित नै छन् ।” -बीबीसीबाट