नयाँ दिल्लीः दिल्लीका ‘रोबिन हुड’ भनेर चिनिने एकजना ग्याङ नाइके पक्राउ परेका छन् । २५ जनाको ग्याङको नेतृत्व गर्दै आएका वसिम अक्रम पक्राउ परेका हुन् । 

अक्रम र उनको समूहले धनीका घरबाट नगद तथा बहुमूल्य गरगहना लुट्ने र त्यसमध्येबाट केही रकम गरिब समुदायलाई बाँड्दै आएको प्रहरीले जनाएको छ । तर, डिस्नी कथा विपरीत उनीहरूले लुटेका अधिकांश सम्पत्ति भने आफैंले राख्ने गरेका छन् । ‘लम्वु’ उपनामले पनि चिनिने अक्रमविरुद्ध हत्या र बलात्कार प्रयास जस्ता अभियोग पनि लगाइएको प्रहरीले जनाएको छ । 

२७ वर्षिय अक्रमलाई पक्राउ गर्न खडा गरिएको विशेष सुरक्षा टोलीले चार महिना लामो प्रयासपछि उनलाई आफ्नो फन्दामा पारेको हो ।  सुरक्षा टोलीले गत जुनमा पक्राउ गर्न खोज्दा उनले आफूहरूमाथि गोली चलाएको आरोप लगाएको छ । 

साथै, पक्राउ परेका अक्रमको साथबाट तीन गोली सहितको एउटा पेस्तोल बरामद भएको छ ।  प्रहरीको आँखा छल्न समय समयमा वासस्थान परिवर्तन गर्दै उनी भारतका विभिन्न राज्यहरूमा लुक्दै आएका थिए ।  उनलाई स्थानीय समुदायले पनि सहयोग गरेर प्रहरीबाट जोगाउँदै आएको थियो । -बीबीसीबाट