हेलसिन्कीः फिनल्यान्डका प्रधानमन्त्री सान्ना मरिनको लागुऔषध परिक्षण नेगेटिभ आएको सरकारले सोमबार जनाएको छ । हालै उनी एउटा पार्टीमा नाच्दै, पिउँदै र गाउँदै गरेको एउटा भिडियो भाइरल भएपछि ठूलै विवादमा मुछिएकी थिइन् । 

केही विपक्षी राजनीतिक समूहले उनले लागुऔषध परीक्षण गर्नुपर्ने माग अघि सारेका थिए । तर, उनले सुरुदेखि नै आफूले पार्टीमा कुनैपनि लागुऔषध प्रयोग नगरेको र त्यस्तो कुलत आफूमा किशोरावस्थामा समेत नरहेको अडान राख्दै आएकी थिइन् । 

अन्ततः विवाद र तनावबाट पूर्णतः मुक्ति पाउने उद्देश्यले उनले शुक्रबार आफ्नो लागुऔषध परीक्षण गराएकी थिइन् । यद्यपि ३६ वर्षिया मरिनले पार्टीमा मदिरा सेवन गरेको भने स्वीकारेकी थिइन् । कोकिन, एम्फेटामाइन्स, गाँजा र ओपिओइडुका लागि गरिएको आफ्नो पिसाब परीक्षणको शुल्क मरिन स्वयंले बेहोरेकी हुन् । -बीबीसीबाट