क्वालालम्पुरः मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष कैद भुक्तान गर्न जेल चलान गरिएको छ । 

उक्त सजाय मिनाहाका लागि उनले गरेको अपिल उच्च अदालतले अस्वीकार गरेको हो । ६९ वर्षीय रजाकलाई सरकारी स्वामित्वमा रहेको सम्पत्ति कोष १ मलेसिया डेभलपमेन्ट बर्हाड (१ एमडीबी)मा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरिएको हो । 

सन् २०२० को जुलाईमा अभियुक्त ठहराइएका उनी अपिल दर्ता गरी जमानतमा रिहा भएका थिए । अदालतले आफ्नो सजाय कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अन्तिम अनुरोध पनि अदालतले अस्वीकार गरेको छ । उनले अहिलेसम्म पनि आफूले कुनै गलत काम नगरेको अडान दोहो¥याउँदै आएका छन् । 

सन् २०२० मा कुल ९४ लाख अमेरिकी डलर १एमडीबीको पूर्व इकाइ एसआरसी इन्टरनेसनलबाट आफ्नो निजी खातामा सारिएको अभियोगमा आधारित मुद्दामा सातवटा घटनामा दोषी ठहर गरिएको थियो । -बीबीसीबाट