बेइजिङः चीनले प्राथमिक विद्यालयका पुस्तकमा रहेका थुप्रै कार्टुन चित्र फेरेको छ । पहिलेका कार्टुनहरू आपत्तिजनक रहेको भन्दै हटाइएका हुन् । धेरै वर्षदेखि ती कार्टुनसहितका पुस्तकहरू प्रयोगमा थियो ।

तर, गत मे महिनामा अचानक ती कार्टुन ‘घिनलाग्दा, नश्लवादी, डरलाग्दा र अश्लील’ रहेको भन्दै व्यापक रूपमा विरोध हुन थालेको ग्लोबल टाइम्सले जनाएको छ । त्यतिबेला पुस्तकका प्रकाशकले क्षमायाचना गर्दै ती कार्टुन हटाइने प्रतिबद्धता जनाएको थियो । अहिले हजारौँ पुस्तकको पुनरावलोकन गरी थुप्रै प्रकाशक र चित्रकारहरूलाई चेतावनी दिने वा बर्खास्त गर्ने काम भएको छ ।  

ग्लोबल टाइम्स अखबारकाअनुसार कार्टुनमा एकजना बालकको कुर्कुच्चामा टाटु जस्तो देखिएको, एक बालिका खरायोको पहिरनमा र बालबालिकाहरू अमेरिकी झण्डासहित भेटिएका छन् । 

कार्टुनका थुप्रै समीक्षकले चित्रकारहरूले नियतवश नै चिनियाँ जनताको सुन्दर स्वरूपलाई अपमान गर्न खोजेको तथा यस मामिलामा प्रकाशकहरू अनुत्तरदायी देखिएको आरोप लगाएका छन् । 

करिब दुई हजार वटा पुस्तक ठिक छन् वा छैनन् भन्ने जाँच्नका लागि ३५० जना विशेषज्ञको टोली बनाइएको थियो । सोमबार चीनको राष्ट्रिय पाठ्यक्रम समितिद्वारा अनुमोदित नयाँ कार्टुन चित्रहरू सार्वजनिक गरिएका छन् । 

द चाइना डेलीले २७ जनालाई यस काण्डमा कारबाही गरिएको जनाएको छ । तीमध्ये पिपुल्स एजुकेसन प्रेसका अध्यक्ष हुआँग क्विआंगलाई कडा चेतावनी दिइएको छ भने प्रकाशकका प्रधान सम्पादक गुओ गेलाई बर्खास्त गरिएको छ । यसैगरी कम्तीमा तीनजना चित्रकारलाई पनि बर्खास्त गरिएको छ । -बीबीसीबाट