इस्तानबुलः टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोआनले निकट भविष्यमा नै आफूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ताको चाँजापाँजो मिलाउने आशा गरेको बताएका छन् । 

रुस र युक्रेनबीच द्वन्द्व सुरु भएदेखि नै एर्दोआनले शान्तिका लागि मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गर्दै आएका थिए ।  टर्कीमा मन्त्री परिषद्को बैठक सकिनासाथ उनले आफूले युक्रेन–रुसबीचको समस्याको पूर्ण समाधानका लागि ती नेताद्वयबीच वार्ता गराउने बन्दोबस्त मिलाउने अपेक्षा राखेको बताएका छन् । 

तर, पछिल्ला सातामा किभ र मस्को दुवैले पुटिन र जेलेन्स्कीबीचको कुनै पनि भेटवार्ताको कुनै सम्भावना नरहेको बताएका थिए । सोमबार जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि रुसको प्रतिनिधिले यस्तो कुनै भेटवार्ताको सम्भावना नरहेको फाइनान्सियल टाइम्सलाई बताएका थिए । 

यसैगरी जेलेन्स्की स्वयंले पनि गत साता एर्दोआनसँगको भेटघाटमा यस्तो बैठक हुन नसक्ने तथा ‘मस्को कुनै पनि प्रकारको शान्तिका लागि तयार’ रहेको सुनेर आफूलाई आश्चर्य लागेको प्रतिक्रिया दिएका थिए । -बीबीसीबाट