इटहरीः आगामी मङ्सिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ ।
आगामी भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा निवेदन दिनुपर्ने आयोगको सूचनामा उल्लेख छ ।
आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ वटा दल दर्ता भएका थिए । दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चार वटा समूह बनाएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न आयोगमै स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै समानुपातिक निर्वाचन प्रयोजनका लागि निवेदन लिने आयोगले जनाएको छ ।