इटहरीः सामाजिक सुरक्षा कोषको विराटनगरमा शाखा कार्यालय उद्घाटन गरेको छ । विराटनगरका  मेयर नागेश कोइरालाले शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन पछि आयोजित कार्यक्रममा सामाजिक सुरक्षा कोष सञ्चालक समिति सदस्य पुष्कर आचार्यले श्रमिकका लागि नयाँ युगको सुरुआत अझैपनि भईनसकेको बताए । कार्यक्रममा आचार्यले भने, ‘तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको समयमा सुरुआत हुँदै केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ समाजिक सुरक्षा ऐन लागु भएको हो । सो समय प्रधानमन्त्री ओलीले श्रमिकको पक्षमा नयाँ युगको सुरुआत भएको बताउनु भएको थियो । तर, श्रमिक मजदुरले अहिलेसम्म यसको महसुस गर्न पाएका छैनन् । सबै दलको लागि सामाजिक सुरक्षा ऐन साझा मुद्धा बनेपनि दलहरु नै यसको अक्षरस कार्यान्वयनमा उदासिन देखिएको उनको भनाई छ । नेपाल ट्रेड यूनियन कांग्रेसका अध्यक्ष समेत रहेका आचार्यले सबै श्रमिक मजदुर आफूले प्राप्त गर्ने सेवा सूविधाबारे अझैपनि बेखबर रहेको बताए । 

प्रदेश र स्थानीय तहको सरकार यसका लागि प्रभावकारी भूमिकामा रहेपनि दुवै सरकारबाट ऐन लागु गर्न कठिनाईमा रहेको उनले बताए । ट्रेड  यूनियनकर्मीहरु ऐनको पञ्जीकरणदेखि लागु नहुञ्जेलसम्म श्रमिकको पक्षमा सुविधा प्राप्त नहुञ्जेलसम्म चुप लागेर नबस्ने आचार्यले बताए ।

बृद्ध भत्तामा १३ अर्ब रुपैया राख्न सक्ने सरकारलाई आफूहरुले पटकपटक कम्तीमा ५ अर्ब रुपैया जम्मा गरिदिएर कोषलाई ब्यवस्थित गर्न आग्रह गरेको उनले बताए । उनले भने, ‘कोषमा सरकारको लगानी शुन्य छ । श्रमिकको हितका लागि सरकार समक्ष ५ अर्बको अनुरोध गरेकाछौ ।’ कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्रमिकलाई दिइनुपर्ने सुविधा, हकहितबा बन्चित हुनुनपर्नेमा कोषले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए । मेयर कोइरालाले स्थानीय तह, उद्योगी तथा श्रमिक क्षेत्रलाई सुरक्षित राखेर अघि बढ्नुपर्ने भनाई राखेका थिए ।