नयाँ दिल्लीः भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश क्षेप्यास्त्र प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ । 

यो घटनाले दुई आणविक शक्ति सम्पन्न मुलुक भारत र पाकिस्तानबीच तनाव बढाएको थियो । दिल्लीले नियमित मर्मत कार्य भइरहेकाबेला प्राविधिक गडबडीका कारण सो घटना घटेको भन्दै ‘गहिरो खेद’ प्रकट गरेको थियो । त्यतिबेला इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरबाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र त्यस्तो घटना दोहोरिन नदिन चेतावनी दिएको थियो । 

मंगलबार एउटा विज्ञप्ति जारी गर्दै भारतीय वायुसेनाले ९ मार्चमा भएको यस घटनामा जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको छ । साथै उक्त विज्ञप्तिमा अनुसन्धानबाट अधिकारीहरूले स्ट्यान्डर्ड अपरेटिङ प्रसिजरको विचलनको कारण ब्रह्मोस क्षेप्यास्त्रको आकस्मिक प्रहार हुन पुगेको पत्ता लगाएको उल्लेख गरिएको छ । 

आणविक हतियार बोक्ने क्षमतायुक्त क्रुज क्षेप्यास्त्र ‘ब्रह्मोस’ भारत र रुसले संयुक्त रुपमा विकास गरेका हुन् । पाकिस्तानको वायुसेनाले मार्चमा पाकिस्तानी वायुक्षेत्रमा पट्कनुअघि यो क्षेप्यास्त्रले ध्वनिको भन्दा तीन गुणा बढी गतिमा १२ हजार मिटरको उचाईबाट आफ्नो भूमिमा १२४ किलोमिटर दुरी पार गरेको बताएको थियो । -बीबीसीबाट