लन्डनः सत्ताबाट बाहिरिन लागेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसी आक्रमणको सामना गर्न जीवनयापनमा संकट सहनुपर्ने बताएका छन् । 

युक्रेन भ्रमणको सिलसिलामा जोन्सनले युद्धको कारण जीवनयापन महँगो हुँदै गए पनि पश्चिम जगत् युक्रेनको पक्षमा डटिरहनुपर्ने बताए । 

ऊर्जा बिलहरू उच्च भइरहेका बेला ‘युक्रेनी जनताले रुसको ‘दुष्टता’को लागि रगतको मूल्य चुकाइरहेको’ उनको भनाइ छ । युक्रेनको स्वतन्त्रता दिवसमा भाग लिन जोन्सन किभ पुगेका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका निकटतम व्यक्तिको रूपमा चिनिने जोन्सनले रुसले छ महिनाअघि युक्रेनमा आक्रमण गरेयता तीन पटक किभ भ्रमण गरिसकेका छन् । 

ऊर्जाको बढ्दो मूल्यले विश्वव्यापी अर्थतन्त्रलाई कमजोर बनाउँदै युरोपेली देशहरूबीचको समर्थनमा कमी आएको रिपोर्टको बाबजुद युक्रेनमा पश्चिमी एकता ‘बढ्दो’ रहेको उनले दाबी गरे । -बीबीसीबाट