मस्कोः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही महिनामा मुलुकमा सशस्त्र फौजको संख्या थप्ने आदेशपत्रमा हस्ताक्षर गरेका छन् । अब रुसी सेनामा १ लाख ३७ हजार नयाँ सैनिक भर्ति गरिने भएको छ । यो रुसी सेनाको अहिलेको संख्याको १० प्रतिशत जति हो । 

अहिले रुससँग १० लाख भन्दा केही बढी सेना र नौ लाख निजामती कर्मचारी छन् । मुलुकभरि ठूलो परिमाणमा नगद प्रोत्साहनसहित सैनिक भर्ति अभियान चलिरहेको बेला पुटिनको यो घोषणापत्र सार्वजनिक भएको हो । 

पश्चिमी अधिकारीहरूले छ महिना अघि रुसले युक्रेनमाथि आक्रमण गरेयता ७० देखि ८० हजार रुसी फौज मारिएको वा घाइते भएको बताउँछन् । रुसी सेनामा भर्ति लिनका लागि अधिकारीहरूले कारागारमा गएर कैदीहरूलाई सेनामा प्रवेश गरेको खण्डमा कैद मिनाहाका साथै पैसा पनि दिने प्रलोभन देखाइरहेको खबरहरू पनि बाहिरिएका छन् । 

दुई साताअघि बेलायती रक्षा मन्त्रालयले रुसका थुपै्र क्षेत्रमा स्वयंसेवक बटालियन खडा भइरहेको र त्यसबाट पनि नयाँ फौज तयार गरिने जनाएको थियो । तर, युक्रेनमा लड्न स्वयंसेवाका लागि इच्छुकहरूको संख्या निकै न्यून रहेकाले रुसलाई आवश्यक संख्यामा फौज तयार गर्न कठिन हुने पनि बताइएको छ । -बीबीसीबाट