इटहरीः नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सुनसरीको धरानस्थित सर्दु खोलाको ओसो पार्क जाने बाटोमा वृक्षारोपण गरेका छन् ।

जनगायक जेबी टुहुरेको स्मृतिमा उनले वृक्षारोपण गरेका हुन् । काठमाडौँ पुगेका बेला धरानका मेयर हर्क साम्पाङले श्रमदान गर्न आउन भन्दै दिएको निमन्त्रणा स्वीकार गरी आएका प्रचण्डले मेयर साम्पाङसँगै श्रमदान गरेका हुन् । श्रमदानकै सिलसिलामा दाहालले मेयर साम्पाङको प्रशंसासमेत गर्न भ्याएका छन् । आफूहरूले गर्नुपर्ने काम मेयर हर्कराज साम्पाङले गरिरहेको भन्दै दाहालले प्रशंसा गरेका हुन् । मेयर साम्पाङको प्रशंसा गर्दै दाहालले भने, ’मैले उहाँको कामलाई निरन्तर रूपमा हेरेको छु । हामी कम्युनिस्टहरूले अझै माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजीवी जनताहरुलाई पनि हर्कजीको काम र आचरणबाट प्रेरणा लिन न अनुरोध गर्दछु ।’

अध्यक्ष प्रचण्डले साम्पाङ मेयर रहेको धरानमा आफ्नै पार्टीका अइन्द्रविक्रम बेघा उपमेयर भएको बताउँदै उनीहरु दुवै जनाको जोडी मिलेको जिकिरसमेत गरेका छन् । हर्कमा यसमा निरन्तर रूपमा डटिराख्नु प¥यो । कति सक्नु हुन्छ भन्ने मेरो शुभकामना छ । डटिराख्नुहोस् र जनतासँग जोडिइराख्नुहोस् । जनताको साथ पाइराख्नुहोस् । मेरो र हाम्रो साथीहरूको साथ छँदै छ । उपमेयर हाम्रै पार्टीबाट हुनुहुन्छ उहाँहरूको जोडी असाध्यै मिलेको छ । स्वभाव पनि मिलेको छ काम पनि मिलेको छ । धरान उपमहानगरका लागि राम्रो अवसर हो ।’ धरानमा आजै अपराहन्न ४ः०० बजे आयोजना ह’न लागेको जेबी टुहुरे साँझलाई पनि प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत नेकपा माओवादी धरानका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिएका छन् ।