इटहरीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपतिबाट नागरिकता विधेयक स्वीकृत हुने विश्वास व्यक्त गरेका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले यस्तो धारणा राखेका हुन् । दाहालले राष्ट्रपतिका कतिपय व्यवहार भने स्वाभाविक नदेखिएको टिप्पणी गरेका छन् । उनले भने, ‘राष्ट्रपतिबाट नागरिकता विधेयक स्वीकृत हुन्छ भन्नेमा म विश्वस्त छु । कतिपय व्यवहार स्वाभाविक देखिएको छैन । तर, यसले त्यस्तो केही संकट निम्त्याउने म देख्दिनँ ।’
नागरिकता विधेयकमा सुझाव दिएकी राष्ट्रपतिलाई सत्ता गठबन्धनले सोही विधेयक जस्ताको तस्तै पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिने हल्ला चलिरहेको छ । सेनाका पूर्व अधिकारीहरूसँग छलफल गरेपछि राष्ट्रपतिको आलोचना भइरहेको छ । यो कदमको सबैजसो नेताहरूले आलोचना गरेका छन् ।