लन्डनः इतिहासमै सबैभन्दा ठूलो मानिएको एउटा लिलाममा माइक्रोसफ्टका स्वर्गीय सह–संस्थापक पावल एल्लेनका करिब एक अर्ब अमेरिकी डलरबराबरका कलात्मक वस्तुहरू बिक्रीमा राखिने भएको छ । 

बेलायतको लन्डनस्थित क्रिस्टिज लिलाम गृहले नोभेम्बरमा ती वस्तुको लिलामबाट संकलन हुने रकम दातृ कार्यमा खर्च गरियोस् भन्ने चहाना एल्लेनको रहेको बताएको छ । लिलाममा राखिने वस्तुहरूमा बोटिसेल्ली, रेनोइर, डेविड होकनी र रोय लिच्टेन्स्टेइन लगायत महान कलाकारका अनुपम कलाकृतिहरू रहेको बताइएको छ । 

आफ्नो बाल्यकालीन मित्र विल गेट्ससँग मिलेर एल्लेनले सन् १९७५ मा माइक्रोेसफ्टको स्थापना गरेका थिए । उनको सन् २०१८ मा ६५ वर्षको उमेरमा निधन भएको थियो । उक्त लिलाममा पाँचसय वर्षसम्म पुराना १५० वटा कलाकृति बिक्रीका लागि राखिने भएको छ । 

लिलाममा राखिनेमा प्रख्यात फ्रेन्च पेन्टर पावल सिजाने बनाएको पेन्टिङ ‘ला मोनटाग्ने सेन्टे–भिक्टोइरे’ पनि रहेको छ । यसको मूल्य १० करोड डलर भन्दा बढी पर्ने बताइएको छ । क्रिस्टिजका प्रमुख कार्यकारी अधिकृत गिल्लाउमि सेरुटीले यो लिलाम विश्वमै अहिलेसम्म भएकामध्ये अलग्गै खालको हुने जानकारी दिएका छन् । -बीबीसीबाट