विराटनगरः सशस्त्र गतिविधिमा संलग्न रहेको एउटा पक्षले आज मोरङमा हतियार बुझाएको छ । हतियार बुझाउनेमा भूमिगत अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाको विवेक समूह रहेको प्रशासनले जानकारी दिएको छ ।
विभिन्न सशस्त्र पक्षसँग सरकारले वार्ता गर्न समिति गठन गरी शान्तिपूर्ण वार्ताका लागि आह्वान गर्दै आएको थियो । सोहीअनुसार आज समितिका संयोजक सोमप्रसाद पाण्डेसमक्ष मोरङ जिल्ला प्रशासनमा उक्त समूहले हतियार बुझाएको हो ।
हतियार बुझाउनेमा रामनन्दनकुमार कामत, जयप्रकाश लिचपुरिया, विवेक यादव र विनयकुमार यादव रहेका छन् । उनीहरूले १ अटोमेटिक पेस्तोलसहित २ वटा कटुवा पेस्तोल पनि बुझाएका छन् ।
यस अघि जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहले सप्तरीमा पनि हतियार बुझाइसकेको छ । यो समूह पनि गोइत समूहकै उपसमूह भएको बुझिएको छ । आज सार्वजनिक भएकाहरूले गोइत समूहबाट २०६७ सालमा छुट्टिएको बताएका छन् ।
।
जिल्लाका उच्च सुरक्षा अधिकारीबीच सार्वजनिक हुँदै सो समूहका प्रमुख विवेक यादवले वार्ता टोलीसँगको सहकार्यपछि हतियार बुझाएको प्रतिक्रिया दिएका छन् ।