इटहरीः ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का नवनिर्वाचित महासचिव नवीनबाबु राईले राज्यको परिवर्तनमा रेडियोहरूको योगदान ठूलो रहेको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन सुनसरीको कार्यालयमा आइपुगेका उनले भने, राज्यको परिवर्तनमा रेडियोको ठूलो योगदान छ, अब नवनिर्वाचित टिमले रेडियोहरूको स्तरोन्नतिका लागि विशेष काम गर्छ ।
उनले नीतिगत रूपमा राज्यबाट अफ्ट्यारा भएकाहरूमा सहजीकरण गर्नमा नयाँ टिमले काम गर्ने बताए ।
‘रेडियो कसले खोल्ने ? भन्ने कुराको पनि उत्तर खोजिनुपर्छ’, उनले भने, ‘रेडियोको वर्गीकरण हुनुपर्छ भन्ने हाम्रो एकसुत्रीय माग हो, रेडियोको भविष्य छ ।’ रेडियोको व्यवस्थापकीय पक्ष कमजोर भएकाले पनि यस क्षेत्रमा अफ्ट्याराहरू आइपरेको उनले बताए । ‘रेडियोको व्यवस्थापकीय पक्ष कमजोर छ, राज्यमा उद्योग, धन्दा चलेमात्रै रेडियो चल्छ ।’ उनले भने । गत शनिबार र आइतबार भएको अधिवेशनले बानको अध्यक्षमा कुमार भट्टराई सर्वसम्मत चयन भएका छन् ।
यस्तै, महासचिवमा उदयपुर घर भएका राईसहितको कार्यसमिति सर्वसम्मत चयन भएको हो । शुक्रबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, सचिव विवेक भट्टराई, सदस्य विवेक विवश रेग्मी लगायतले महासचिव राईलाई टोपी तथा खादा ओढाएर स्वागत एवम् बधाइ ज्ञापन गरेका थिए ।