मस्कोः युरोपमा ऊर्जाको मूल्य आकासिएको बेला रुसले भने ठूलो परिमाणमा प्राकृतिक ग्यास बाल्दै गरेको पाइएको छ । 

फिनल्यान्डको सिमाना नजिकैको प्लान्टमा रुसले प्रत्येक दिन करिब एक करोड अमेरिकी डलर मूल्य बराबरको ग्यास बाल्ने गरेको बीबीसी न्युजमा सेयर गरिएको एउटा विश्लेषणमा उल्लेख गरिएको छ । 

विशेषज्ञहरूका अनुसार यसअघि त्यहाँको ग्यास जर्मनीमा निर्यात हुने गरेको थियो । 

बेलायतका लागि जर्मनीका राजदूतले कतै बेच्न नसकेपछि सो ग्यास रुसले बाल्न थालेको बीबीसी न्युजलाई बताएका छन् । 

वैज्ञानिकहरूले यसरी ग्यास बाल्दा ठूलो परिमाणमा उत्सर्जन हुने कार्बनडाइअक्साइड ग्यासले वातावरणमा नराम्रो असर पर्ने र यसबाट आर्कटिक हिउँ पग्लन थाल्ने चेतावानी दिएका छन् । 

राइस्टाड इनर्जीद्वारा भएको यससम्बन्धी विश्लेषणअनुसार प्रत्येक दिन रुसले त्यहाँ ४३ लाख ४० हजार क्युविक मिटर ग्यास नष्ट गरिरहेको छ । 

यो ग्यास सेन्ट पिटसवर्गको उत्तर पश्चिममा रहेको पार्तोभायास्थित तरल प्राकृतिक ग्यास कारखानाबाट आइरहेको हो । पार्तोभाया समुद्र मुनिबाट जर्मनीतर्फ ग्यास लाने नोर्ड स्ट्रिम पाइपलाइन १ को प्रारम्भ बिन्दुस्थित कम्प्रेसर स्टेसन नजिक रहेको छ । 

प्राविधिक समस्याको कारण देखाउँदै रुसले जुलाईको मध्यदेखि सो पाइप लाइनमार्फत हुने ग्यास आपूर्तिमा कटौती गर्दै आएको छ । -बीबीसीबाट