इटहरीः सडक सुरक्षालाई मध्यनजर गर्दै प्रदेश १ ट्राफिक प्रहरीले निगरानी तीव्र पारेको छ । पुस १ गतेदेखि टिफरलगायतका सवारीको प्रतिबन्ध समय तोकेको ट्राफिकले प्रदेश भित्रका जिल्ला कार्यालयलाई कडा निर्देशन दिएको जानकारी दिएको छ ।
दैनिक भइरहेका दुुर्घटनालाई मध्यनजर गर्दै त्यहाँको वस्तुस्थिति र के कारणले दुर्घटना भइरहेको छ भन्ने कारण प्रहरीले खोजिरहेको छ । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले स्पष्ट नीति तय गरेर कार्यान्वयनका लागि दत्तचित्त भई लागेको बताए । उनले स्थानीय सरकार र जिल्ला सुरक्षा समितिको सहयोगमा प्रदेश १ को दुर्घटनादरलाई न्यूनीकरण गर्ने लक्ष्य लिएको बताए । ‘ट्राफिक जनचेतना जगाउँदै दुर्घटनाको दर घटाउँदै लग्नु हाम्रो मिसन हो,’ उनले भने ।
बिहीबार प्रदेश १ कार्यालयका डिएसपी कृष्ण प्रसाईंले झापाका विभिन्न ठाउँमा पुगेर त्यहाँका सर्वसाधारणलाई ट्राफिक सचेतना गराएका छन् । उनले झापाबाटै टेलिफोनमा भने, ‘जोखिमपूर्ण ठाउँको बारेमा स्थलगत अध्ययन गर्दै सम्भावित दुर्घटना न्यूनीकरण गर्नेबारे हाम्रो अभियान जारी छ, त्यसैको सिलसिलामा म मेची यात्रामा छु ।’
उनले झापाका अति दुर्घटनाग्रस्त स्थलको बारेमा जानकारी लिने र त्यसका लागि योजना बनाउने कार्यक्रम रहेको बताए । मेची पहाडी क्षेत्रको दुर्घटनाको दरलाई समेत मध्यनजर गर्दै विविध कार्यक्रम गरिने उनले जानकारी दिए ।
सडक अनुगमनको क्रममा भड्किला होडिङबोर्ड र रक्सीको भ्रामक प्रचार गरेका बोर्ड हटाइएका छन् । बाँकी रहेका बोर्ड तत्काल हटाउन सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ । चालककले अनिवार्य जुत्ता लगाएको छ छैन, मदिरा सेवनको अवस्था, यात्रुको चाप, गतिलगायतका विषयमा ट्राफिकको नियमित कडा चेक भइरहेको प्रसार्इंको भनाइ छ ।