वासिङ्टन डीसीः अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि फेरि चन्द्रमामा मानिस पठाउने तयारी गरेको छ । नासाले सोमबार चन्द्रमामा ठुलो रकेट पठाउन लागेको बीबीसीले जनाएको छ ।

रकेटको नाम ’स्पेस लन्च सिस्टम (एसएलएस)’ रहेको छ ।

यो नासाको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो । यो नासाको आर्टेमिस मिसनको एक हिस्सा हो । जसअन्तर्गत ५० वर्षपछि फेरि चन्द्रमामा मानिस पठाउने तयारी भइरहेको छ ।

यो रकेट अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समय अनुसार बिहान ८ः३० बजे अन्तरिक्षको लागि उड्नेछ । नेपालमा त्यसबेला साँझको करिब ५ः४५ को समय हुनेछ । 

करिब १०० मिटर लामो एसएलएसको काम पृथ्वीबाट टाढा ओरियन नामको टेस्ट क्याप्सुल प्रक्षेपण गर्ने हो । यो चन्द्रमाको वरिपरि घुम्नेछ र छ हप्तापछि यो प्रशान्त महासागरमा फिर्ता आउनेछ । 

यो रकेटको पहिलो मिसन कुनै पनि अन्तरिक्ष यात्री सवार हुनेछैन । तर यदि यो मिसन सफल भएमा भविष्यमा अन्तरिक्ष यात्रीहरू पनि यो रकेटमार्फत मिसनमा जान सक्नेछन् । सोचेजस्तो भएमा सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न पाउनेछन् ।

नासा अन्तरिक्ष यात्री ¥यान्डी ब्रेस्निक भन्छन्, “हामीले आर्टेमिस–१ मा के गरिरहेका छौँ र हामीले के गर्न सक्छौँ भनेर प्रमाणित गर्ने हो । यसले आर्टेमिस–२ मानव मिसनमा निम्त्याउने जुनसुकै खतराहरूलाई हटाउन सकिन्छ ।”

अपोलो मिसनको पाँच दशकपछि मानव मिसन

आर्टेमिस नासाको लागि महत्त्वपूर्ण मिसन मानिन्छ । यसै वर्षको डिसेम्बरमा नासा एपोलो १७ चन्द्रमामा पुगेको ५० वर्ष पूरा गर्नेछ । मानिस चन्द्रमामा पुगेको त्यो अन्तिमपटक थियो ।

नासाले आर्टेमिसमार्फत नयाँ प्रविधिसहित चन्द्रमामा पुग्ने वाचा गरेको थियो । आर्टेमिस ग्रिक देवता एपोलोकी जुम्ल्याहा बहिनीको नाम हो । जसलाई ‘चन्द्रमाकी देवी’ पनि भनिन्छ ।

नासाले सन् २०४० मा या पछि मंगल ग्रहमा पुग्ने योजना बनाएको छ । चन्द्रमामा पुनः जाने प्रयासलाई त्यसको तयारीका रूपमा हेरिएको छ ।

अपोलो मिसनको रकेट सेटर्न–५ भन्दा शक्तिशाली यो रकेटले अन्तरिक्ष यात्रीहरूलाई टाढा लैजान मात्र नभई यसमा थप सामान पनि लोड गर्न सकिन्छ । यसबाट अन्तरिक्ष यात्रीहरू लामो समयसम्म अन्तरिक्षमा बस्न सक्नेछन् ।

मिसनको तयारीबारे बोल्दै नासाका प्रशासक बिल नेल्सनले भने, “चन्द्रमा हेर्ने हामी सबैले मानिसले फेरि चन्द्रमामा पाइला राख्ने दिनको सपना देख्छौँ । साथीहरू, हामी यहाँ छौँ । हामी फेरि त्यहाँ जाँदैछौँ । र हाम्रो यात्रा आर्टिमिस–१ बाट सुरु हुँदै छ ।”

बीबीसीसँग कुरा गर्दै बिल नेल्सनले भने, “पहिलो मानवयुक्त मिसन आर्टेमिस–२ प्रक्षेपण दुई वर्षपछि २०२४ मा हुनेछ । हामीले चन्द्रमाको सतहमा अवतरण गर्न आर्टिमिस–३ को पहिलो प्रक्षेपण सन् २०२५ मा हुने अपेक्षा गरेका छौँ ।”

प्रक्षेपणको तयारी

एसएलएस प्रक्षेपण गर्ने पूर्ण तयारी पुगेपछि इन्जिनियरहरूले यसमा एक हप्ता काम गरे र उडानका लागि तयार पारेका थिए । यदि सबै ठिक भएन भने त्यसपछि अर्को प्रयास सेप्टेम्बर २ मा गरिनेछ । यो पनि सफल भएन भने सेप्टेम्बर ५ मा प्रक्षेपण गर्ने प्रयास गरिने छ ।

यस्तै, रकेट प्रक्षेपण हेर्न केनेडीको समुद्र तट र मार्ग वरिपरि दुई लाख मानिस भेला हुने अनुमान गरिएको छ ।

करिब एक मिटर चौडाइ र पाँच मिटर लम्बाइ भएको यो रकेटको क्रू क्याप्सुलको नाम ओरियन हो । यो १९६० र १९७० को दशकको मोड्युलभन्दा धेरै फराकिलो छ । 

प्रक्षेपणको समयमा एसएलएसबाट ३९.१ मेगान्युटन बलको धक्का लाग्नेछ । यस नासाको नयाँ मिसनले सन् १९६० र १९७० को दशकमा एपोलो मिसनका क्रममा प्रहार गरिएका सेटर्न ५ रकेटहरूभन्दा १५ प्रतिशत  बढी बल प्रयोग गर्नेछ । 

अर्को तरिकाले भन्दा, रकेट प्रक्षेपण गर्दा निस्कने ऊर्जा ६० कन्कर्ड सुपरसोनिक जेटको टेक अफको समयमा निस्कने ऊर्जा बराबर हुनेछ । 

यस परीक्षण प्रक्षेपणको मुख्य उद्देश्य ओरियनको तापक्रम सहन सक्ने क्षमताको परीक्षण गर्नु हो । पृथ्वीको कक्षामा फर्कने क्रममा यसको सुरक्षात्मक ढाल सुरक्षित रहन्छ कि रहँदैन भनेर समेत हेरिनेछ । 

यस मिसनमा युरोप पनि महत्त्वपूर्ण सहयोगी बनेको छ । ओरियनलाई अन्तरिक्षमा लैजाने प्रोपल्सन मोड्युल युरोपले तयार पारेको हो । ओरियनलाई चन्द्रमामा लैजान यो मोड्युलको महत्त्वपूर्ण भूमिका हुनेछ । 

एसएलएस र ओरियनको यो मिसनमा सहयोग गरे भविष्यको मिसनमा युरोपका व्यक्तिले पनि चन्द्रमामा पाइला राख्न पाउने युरोपको आशा छ । बीबीसीबाट